विराटनगर २२ असोज
माछा उत्पादनमा मोरङ जिल्ला आत्मनिर्भर उन्मुख भएको छ । जलाशय निर्माण र उत्पादनमा बृद्धि भएसँगै जिल्ला माछामा आत्मनिर्भर उन्मुख भएको हो । पछिल्लो समय जिल्लामा नयाँ जलाशयहरुको निर्माणसंगै माछा उत्पादनमा बृद्धि हुँदै जाँदा मोरङ माछा उत्पादनमा आत्मनिर्भर उन्मुख भएको हो । जिल्लामा बर्षेनी १ सय ५० देखी २ सय नयाँ पोखरीहरु बृद्धि हुने क्रममा रहेकाले माछा उत्पादनमा बृद्धि हुँदै गएको हो । हाल मोरङमा ४ हजार ४ सय ६१ वटा पोखरीहरु छन । ती पोखरीहरुले ८ सय ८ हेक्टर क्षेत्रफलको जलाशय ओगटेको छ । यतिखेर मोरङको माछा उत्पादकत्व प्रति हेक्टर अर्थात प्रति ३० कट्ठामा ४ दशमलव ७ मेट्रिक टन छ । बार्षिकरुपमा जिल्लाभित्रका पोखरीहरुबाट ३ हजार ७ सय ७८ मेट्रिक टन माछा हुने गरेको छ । बर्षेनी नयाँ पोखरीहरु बृद्धि हुने क्रममा रहेको र किसानहरु समेत उत्साहित भएर माछा उत्पादनमा लागेकाले आउदो दुईबर्ष भित्रै मोरङ माछा उत्पादनमा आत्मनिर्भर हुने मत्सय विकास अधिकृत रुद्र फयलले दाबी गर्नुभयो । एक ब्यक्तिले प्राणिजन्य प्रोटिनको पर्याप्तताकालागि बार्षिकरुपमा ६ किलो माछा खानुपर्नेमा हाल मोरङमा सो दर साढे तीन किलो रहेका फयलले जानकारी समेत दिनुभयो । माछा उत्पादनमा थप बृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जिल्लाका तीन स्थानिय तहमा माछा जोन कार्यक्रम समेत संचालन गर्दै आएको छ । परियोजनाले कटहरी र धनपालथान गाँउपालिकाका साथै रंगेली नगरपालिकामा माछा उत्पादकत्वमा बृद्धिगर्न जोन कार्यक्रम संचालन गर्दै आएको छ । पछिल्लो समय भुरा उत्पादनमा मोरङ आत्मनिर्भर भइसकेको र छिट्टै माछा उत्पादनमा समेत आत्मनिर्भर हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई कार्यालय विराटनगरका प्रमुख विनोदकुमार मण्डलले बताउनुभयो । अझसम्मपनि कतिपय किसानहरु पारम्परिकरुपले नै माछा पालन गरिरहेकाले त्यसलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने अगुवा किसानहरु बताउछन । नयाँ प्रबिधि र साधनको प्रयोगगरि माछा उत्पादन थप बढाउन सकिने माछा किसान एहसान शेखले बताउनुभयो । माछाको उत्पादकत्व बृद्धि गर्न पशु सेवा बिज्ञ केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र प्रदेश सरकारले समेत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेकाले मोरङ जिल्ला छिट्टै माछामा आत्मनिर्भर हुने विश्वास लिन सकिन्छ ।