काठमाण्डौ २२ असोज
नेपालमा हिजो ११ सय २६ कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । अहिलेसम्म देशभरी ६८ हजार ६ सय ६८ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किसकेका छन् । यस्तै एकैदिन ३४ सय ३९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै देशमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ । संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ र होम आइसोलेसनमा १४ हजार ४ सय ११ जना संक्रमित उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । यसअघि मन्त्रालयले २५ हजार संक्रमित पुगेमा लक डाउन गर्न सकिने गरी निर्णय गर्न सिफारिस गरेको थियो । अहिले दुईसय ३३ जना आइसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । संक्रमणबाट हिजो थप १५ जनाको मृत्यु भएको छ । ५ महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।