विराटनगर २१ असोज
सार्वजनिक सवारीसाधनहरुले कोरोना महामारीको संक्रमणकालिन अवस्थाकालागि निर्देश गरेको स्वास्थ्य सम्बन्धि मापदण्ड उल्लंघन गरिरहेको पाइएको छ । यात्रुवाहक सवारीसाधनले निर्देशित मापदण्ड उल्लंघन गर्दा महामारीको थप चुनौती बढेको छ । कोरोना महामारीपछि २०७६ चैत्र ११ गतेदेखी जारी गरिएको लकडाउनसंगै अत्यावश्यक बाहेकका सबैप्रकारका सवारीसाधन संचालनमा रोक लगाइएको थियो । करिव ६ महिना बन्दपछि असोज १ देखि सरकारले सुरक्षा सतर्कता र मापदण्ड अपनाएर यात्रुवाहक सवारीसाधनहरु फेरी संचालन गर्ने अनुमति दिएको थियो । जसमा सिट क्षमताको आधा मात्र यात्रु बोक्न पाउने, सवारीसाधनको निर्मलिकरण गर्ने, अनिवार्य मास्क प्रयोगगर्ने तथा एक लहरको एक÷एक जना मात्र यात्रु बसाउन पाउनेगरि संचालनको अनुमति दिइएको छ । तर प्रदेश एकको राजधानी विराटनगरबाट उत्तरतर्फ लागेको यो बसको दृष्य हेर्नुस त । सहचालकले मास्क लगाएका छैनन भने सिटक्षमताको आधाभन्दा बढी मानिसलाई संगसंगै राखिसकिएको अवस्थामा समेत सहचालकले थप यात्रु बोलाउदैछन । बस मात्र नभई माईक्रो र सिटि सफारीहरुले समेत निर्देश विपरीत यात्रु बोकेर दोब्बर भाडा असुलि रहेका छन । एउटै सिटि सफारीमा ५ जना यात्रु बोकेका यि सिटि सफारी चालकले ट्राफिकले नरोक्ने गरेका कारण सिट भरिभराउ गरेर यात्रु ओसारेको बताउछन । विराटनगरको बरगाछीमा यि दृष्यहरु खिचिएको हो । उक्त चौकमा चौबिसै घण्टा प्रहरीको उपस्थिति हुन्छ तर प्रहरीले समेत यात्रुको संख्याको बिषयमा चासो राख्दैनन । कम यात्रु बोक्दा ब्यवसायीलाई घाटा लाग्नसक्ने उद्धेश्यसहित सरकारलेनै तोकिएको भाडा भन्दा दोब्बर बढी भाडा लिन पाउनेगरि अधिकार समेत दिएको छ । यस्तो अवस्थामा ब्यवसायीले बढी भाडा लिन पाउने सुविधालाई प्रयोग गरिरहेका छन भने स्वास्थ्य सुरक्षाका उपायहरुलाई उपेक्षा गरिरहेका छन । यातायात सम्बद्ध संस्थाका प्रतिनिधिले समेत स्वास्थय सम्बन्धि निर्देश उल्लंघन भइरहेको कुरालाई स्वीकार गर्छन । प्रदेश १ को राजधानी विराटनगरबाट बाहिरिने र भित्रिने अधिकांश यात्रुवाहक सवारी साधनहरुको अवस्था उस्तै छ । सो बिषयमा प्रतिक्रिया दिनुहुँदै जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले मापदण्ड उल्लंघन गरेको पाइए कडा कारवाही गर्ने चेतावनी दिनुभयो । नियम बनाउने तर कार्यान्वयनमा ध्यान नदिने श्रृंखलाकै रुपमा यो अवस्थालाई चित्रण गर्न सकिन्छ । यस्तो अवस्थाले संक्रमण गुणात्मक रुपमा बृद्धि हुने देखिन्छ । यद्यपि यात्रु स्वयं समेत यसकालागि पहिलो जिम्मेबार छन् ।