Sunday, November 24, 2024
Home > मुख्य समाचार > विराटनगर विमानस्थल अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्ने निश्चित

विराटनगर विमानस्थल अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्ने निश्चित

विराटनगर २० असोज
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले सबै प्रदेशमा रहेका विमानस्थलहरुको स्तरोन्नती तथा पूर्वाधार विकासको कामलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । विराटनगर विमानस्थलको विकास र विस्तारसँगै अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणका लागि विराटनगरमा आज आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा उहाँले नयाँ विमानस्थल बनाउनेभन्दा पनि भएका विमानस्थललाई व्यवस्थित गर्नेतर्फ सरकार लागेको बताउनुभयो । उहाँले आन्तरिक उडानका लागि एउटा विमानस्थल बनाउँदा एक–अर्बभन्दा बढी खर्च लाग्ने भएकाले नयाँ विमानस्थल बनाउनेभन्दा पनि प्रदेशमा रहेका सबै विमानस्थलको स्तरोन्नति गर्दै हवाई उडानको हवका रुपमा विकास गरिने बताउनुभयो । उहाँले प्रदेश एक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेकाले पर्यटन क्षेत्रको विकास विस्तारका लागि संघीय सरकारले प्रदेश र स्थानीय तहसँगको साझेदारीमा विभिन्न कार्यक्रम ल्याउन लागेको बताउनुभयो । मन्त्री भट्राईले प्रत्येक प्रदेशमा पर्यटकीय गाउँ तथा हिल स्टेसन बनाउने योजना सरकारले अघि सारेको र पर्यटनको माध्यमवाट तराई–मधेसलाई जोड्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले कोभिडले मुलुक आक्रान्त पारेको अवस्थामा पनि सरकारले उल्लेखनीय रुपमा विकास निर्माणको कामहरु गरि रहेको बताउनुभयो । प्रदेस एकका मुख्यमन्त्री शेरधन राईले अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा गर्न लागिएको विराटनगर विमानस्थलको विस्तारले एक नम्बर प्रदेशमा सम्वृद्धिको ढोका खुल्ने वताउनुभयो । विमानस्थलको विस्तारकालागि सम्झौतापत्रमा हस्ताक्षर भएकाले अब मन्त्री परिषद्बाट प्रस्ताव पारित गरी निर्माण प्रक्रियालाई तत्काल अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले तिनै तहका सरकारको सहकार्यमा र साझेदारीमा स्तरोन्नति गर्न लागिएको विमानस्थलको काममा जनस्तरको सहयोग आवश्यक रहेको बताउनुभयो । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, प्रदेश नम्बर १ सरकार तथा विराटनगर महानगरपालिकाको लागत साझेदारीमा विमानस्थल विस्तार गर्न लागिएको हो । कार्यक्रममा नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, प्रदेश नम्बर १ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले तथा विराटनगर महानगरपाकिालका प्रमुख प्रसाशकीय अधिकृत इन्द्रमणि पोखरेलले त्रिपक्षीय रुपमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । अब विराटनगर विमानस्थलको धावनमार्गलाई ३ हजार मिटर लम्बाईमा विस्तार गर्ने तथा जग्गा अधिग्रहण गरी विमानस्थललाई थप विस्तार गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *