काठमाण्डौ १९ असोज
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हिजोको बैठका उपस्थित हुनुभएका मन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताउनुभएको हो । स्थानीय बासिन्दाका लागि दिनुपर्ने मुआब्जा ८० प्रतिशत वितरण भइसकेको र केहीलाई स्थानान्तरण गर्ने कामको सुरुवात भएको उहाँले बताउनुभयो । १९ सय हेक्टर क्षेत्रफल जमिनमा बन्ने एयरपोर्ट भएकाले कति रुख कटान हुन्छ भन्ने सम्बन्धमा रुखको गणना गर्ने काम भइरहेको पनि उहाँले बताउनुभयो । विभिन्न १२ वटा ब्लकमा विभाजन गरेर रुख गणनाको सुरुवात गरिएको र अहिले सम्म २ वटा ब्लकको गणना गर्नेकाम सकिएको उहाँले बताउनुभयो । २ वटा ब्लकमा ६५ हजार रुख रहेको पनि उहाँले बताउनुभयो । उक्त तथ्याङ्कका आधारमा करिब ४ लाख रुख कटान हुने अनुमान गरिएको पनि उहाँले बताउनुभयो । यस्तै विमानस्थल निर्माणका लागि लगानी जुटाउने काम पनि लगानी बोर्ड मार्फत भइरहेको उहाँले बताउनुभयो । बैठकमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशको हित र अन्य लाभलाई हेर्दा पनि निजगढ विमानस्थल निर्माणको काम छिटो सुरु गर्नुपर्ने बताउनुभयो । विमानस्थल निर्माणमा कुनै बाधा व्यवधान भए तत्काल समाधान गरी निर्माण कार्य सुरु गर्नुपर्ने उहाँले बताउनुभयो । बैठकमा सांसदहरुले निजगढ विमानस्थलको निर्माण कार्यमा भइरहेको सुस्तता प्रति चासो व्यक्त गरेका थिए । विमानस्थल निर्माणका लागि कति रुख काट्नुपर्ने हो त्यसको निक्र्योल गरी उच्च प्राथमिकताका साथ काम गर्न सांसदहरुले सुझाव दिएका छन् ।