बिराटनग १७ असोज
उपचारका क्रममा भोजपुरकी एक महिलाको मृत्यु भएपछि विराटनगरस्थित नोवेल टिचिङ अस्पतालमा तनाव भएको छ । डाक्टरको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै आफन्तले आकस्मिक कक्ष अगाडि धर्ना दिएका छन् । भोजपुरको षडानन्द नगरपालिका–११ की ३० वर्षीया प्रतिमा राई उपचारका क्रममा मृत्यु भएको थियो । राईलाई जण्डिस र निमोनियाको समस्या थियो । बिरामीलाई भर्ना गरेर डाक्टरले नहेरेको आफन्तको आरोप छ । विरामीलाई अस्पतालमा १५ घण्टासम्म राख्दा पनि कुनै औषधि नदिएकै कारण बिरामी प्रतिमाको मृत्यु भएको मृतकका दाजु सुकदेव राईले बताउनुभयो । अस्पतालकै कारण बहिनीको अकालमै मृत्यु भएको राईले गुनासो गर्नुभयो । भर्ना गरेपछि एकपटक पनि डाक्टरले बिरामीलाई नगरेको उहाँको दाबी छ । उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारबाहीको माग गर्दै आफन्तले अस्पतालमा धर्ना दिएका थिए । तर, अस्पतालले भने उपचारमा कुनै लापरबाही नगरेको दाबी गरेको छ । बिरामीलाई भेन्टिलेटर आवश्यक रहेको तर अस्पतालमा भेन्टिलेटर खाली नभएको कारण बिरामीलाई आकस्मिक कक्षमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।