Friday, November 22, 2024
Home > आर्थिक समाचार > करको दर घटाउने सरकारको निर्णयको व्यवसायीद्धारा स्वागत

करको दर घटाउने सरकारको निर्णयको व्यवसायीद्धारा स्वागत

काठमाण्डौ १७ असोज
करका दर र अन्तशुल्क घटाउने सरकारको निर्णय स्वागतयोग्य भएको व्यवसायीहरुले बताएका छन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेपछि व्यवसायीहरु उत्साहित हुँदै स्वागत योग्य कदम भनेका छन् । सरकारले गरेको करका दर र अन्तशुल्क घटाउने निर्णय बिहीबार नै राजपत्रमा प्रकाशित गई कार्यान्वयनमा आइसकेको छ । खासगरी विद्युतिय सवारीसाधनमा सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत अन्तशुल्क बढाउने निर्णय गरेको थियो । तर बिहीबार फेरी अन्तशुल्क घटाउने निर्णय गरेपछि अटोमोबाइल्स व्यवसायीहरुले पनि स्वागत योग्य भनेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले विद्युतिय सवारीसाधनमा अन्तशुल्क घटाउनु स्वागत योग्य भएको बताउनुभयो । यस्तै सवारीसाधन खरिदमा न्यूनतम ५० प्रतिशत डाउनपेमेन्ट गर्ने व्यवस्थालाई पनि सरकारले घटाइदिनुपर्ने उहाँले बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आयातित वस्तुमा लिने अन्तशुल्क र करका दर घटाउँदा सरकारको राजस्व झनै बढने बताउनुभयो । अन्तशुल्क घटाउँदा सबै सामान वैधानिक माध्यमबाट आउने र आयातको आकार बढने हुँदा राजस्व पनि बढ्ने उहाँको भनाई छ । त्यस्तै कर घटाउँदा कम मूल्यमा वस्तु विक्री गर्न सक्ने भएकाले उत्पादन पनि बढ्न जाने र त्यसबाट रोजगारी बढने भएकाले राजस्वमा स्वतः वृद्धि हुने श्रेष्ठले बताउनुभयो ।
व्यवसायीहरुले आयातित वस्तुको अन्तशुल्क घटाउनु सकारात्मक भएपनि भन्सार प्रक्रियामा सुधारको आवस्यकता रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *