बिराटनगर १५ असोज
पीसीआर परीक्षणका लागि विराटनगरमा परीक्षण मेसिन अभाव भएकोबेला मेसिन खरिदका लागि नागरिक समाजको आव्हानमा संकलन गरेको सहयोग रकमको हिसाव हिजो सार्वजनिक गरिएको छ । नागरिक समाजको तर्फबाट स्वतःस्फुर्तरुपमा आव्हान गर्दा ७७ लाख ३७ हजार ३५४ रुपैयाँ सहयोग रकम संकलन भएको हिजो प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ । कोभिड राहत कोष परिचालन समिति मार्फत उक्त रकम परिचालन गरिएको थियो । संकलित रकमबाट एक थान पीसीआर मेसिन र एक थान आरएनए एक्स्ट्रासन मेसिन खरिद गरेको समितिले जनाएको छ । पीसीआर मेसिन ३१ लाख ६४ हजार रुपैयाँ र आरएनए एक्स्ट्रासन मेसिन ३१ लाख ९९ हजार ९ सय ९९ रुपैयाँमा गरी जम्मा ६३ लाख ६३ हजार ९ सय ९९ रुपैयाँ खर्च भएको हिसाव सार्वजनिक भएको छ । कोषमा १३ लाख ७३ हजार ३ सय ५४ रुपैयाँ रकम बाँकी रहेको र समितिको निर्णय अनुसार मानवीय कार्यमा खर्च गर्ने पनि जनाएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुकोको अग्रसरतामा उद्योग संगठन मोरङ अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा लगायतको सक्रियतामा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो । अभियानका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले ७ लाख रुपैयाँ सहयोग रकम उपलव्ध गराउनुभएको थियो । त्यस क्रममा ४१ जनाले न्यूनतम २५ हजार रुपैयाँदेखि ७ लाख रुपैंयासम्म सहयोग गरेको कोभिड राहत कोष परिचालन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।