Saturday, November 23, 2024
Home > राष्ट्रिय समाचार > २०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु यतिबेला उठ्ने तरखरमा

२०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु यतिबेला उठ्ने तरखरमा

काठमाण्डौ १५ असोज
२०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु यतिबेला उठ्ने तरखरमा छन् । दरबारहरुको मौलिकताको अधिकम सुरक्षा हुनेगरी पुननिर्माणको काम भइराखेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले बताएको छ । काठमाडौंका ऐतिहासिक सिंहदरबार, केसरमहल, बालमन्दिर, बबरमहल लगायतका दरबारहरुको प्रवलीकरण विधिमार्फत पुननिर्माणको काम जारी छ । २०७२ सालको भूकम्पबाट क्षति भएका सिंहदरबारको मुख्य प्रशासनिक भवनसहित काठमाडौंमा रहेका केसरमहल, बाल मन्दिर र बबरमहल दरबार विस्तारै उठ्ने प्रक्रियामा छन् । दरबारहरुमा रहेका ऐतिहासिक पुरातात्विक सम्पत्तिहरुको मौलिकतामा कुनै क्षति नहुने गरी राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्रबलीकरण विधिमार्फत पुननिर्माण गरिरहेको छ । प्राधिकरणका अनुसार सिंहदरबारको मुख्य प्रशासनिक भवनको पूर्वपट्टीको भागको सम्पूर्ण कार्य आगामी मंसिर महिनाभित्रमा सम्पन्न हुनेछ । यो भवनको पुननिर्माणको काम सम्पन्न भए पनि फायरफाइटिङ, इन्टेरियर, ल्याण्डस्केपिङ र सुरक्षालगायतको काम भइराखेको प्राधिकरणका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्माले बताउनुभयो । यो भवनको कुल लागत भ्याटबाहेक ५५ करोड ९४ लाख रपैयाँ रहेको छ । त्यस्तै सिंहदरबारको पश्चिमपट्टीको मोहडाको पुननिर्माणले पनि तीव्रता पाएको छ । यो भवन पनि प्रबलिकरण विधिमार्फत पुननिर्माण भइराखेको हो । ऐतिहासिक महत्वका वस्तुहरुलाई जस्ताको तस्तै जोगाउने गरी पुरानै निर्माण सामग्रीकोे प्रयोग गरी पुरानै विधिमार्फत काम भइराखेको विश्वकर्माले बताउनुभयो । यो भवनको कुल लागत भ्याटबाहेक ५० करोड रुपैयाँ छ भने हालसम्म ३५ प्रतिशत प्रगति भएको छ । यो भवन २०७८ भदौ ५ गतेभित्रमा सम्पन्न हुनेछ । त्यस्तै काठमाडौंको केसरमहल दरबारको पूननिर्माण हालसम्म २० प्रतिशत सम्पन्न भएको छ । भ्याटबाहेक ५९ करोड ५० लाख रुपैयाँ बजेटमा पुननिर्माण हुन लागेको यो दरबार २०७८ मंसिर १२ गतेभित्रमा सम्पन्न हुनुपर्नेछ । यो दरबारको कुल लागत भ्याटबाहेक ८६ करोड रुपैयाँ छ भने यसको पुननिर्माण २०७८ असार मसान्तसम्ममा सम्पन्न भइसक्नुपर्नेछ । यस्तै बालमन्दिरको पुननिर्माणमा पनि १५ प्रतिशत प्रगति भएको छ । भ्याटबाहेक कुल ५५ करोड रुपैयाँ लागतमा पुननिर्माण भइरहेको यो दरबार २०७८ मंसिर मसान्तसम्ममा सम्पन्न हुनेछ । चारवटै दरबारको पुननिर्माण हुँदा ऐतिहासिक पुरातात्विक कलाकृतिहरु नबिग्रने गरी पुरानै निर्माण सामग्रीको प्रयोग गरिएको छ । सुर्कि, फलाम, चुना, काठ लगायतको प्रयोग गरेर पुरानै विधिबाट प्रवलिकरण गरिरहेको आयोजना उपनिर्देशक विश्वकर्माले बताउनुभयो । पुरानै शैली, पुरानै निर्माण सामग्री, पुरानै पद्धति र पुरानै कलाकृतिलाई ‘जस्ताको तस्तै तर बलियो प्रशस्तै’ भन्ने सिद्धान्तबाट पुननिर्माणको काम भइरहेको उहाँले बताउनुभयो । तर सिंहदरबारको पूर्वी मोहडाको पुननिर्माणमा भने छड र सिमेन्टको प्रयोग गरिएको छ । यसअघि २०३० सालमा आगलागिबाट क्षति भएपछि यो भवनको निर्माण सिमेन्ट र छडको प्रयोग भई गरिएको थियो । त्यसैले अहिले पनि पर्खाल भित्र र बाहिर ज्याकेटिङ प्रविधिमार्फत बाँधेर प्रबलिकरण गरिएको उहाँले बताउनुभयो । दरबारहरुको पुननिर्माण तोकिएको समयमा सम्पन्न हुनेमा भने कोभिड–१९ का कारण चुनौति थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *