Friday, November 22, 2024
Home > मुख्य समाचार > बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय दिनुपर्ने विषयमा बहस सुरु

बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय दिनुपर्ने विषयमा बहस सुरु

काठमाण्डौ १५ असोज
सांसदहरुले सोह्र वर्ष मुनिका बालिकामाथि बलत्कार गरी हत्या गरेको प्रमाणित भए मृत्युदण्डसम्मको सजाय दिने सम्बन्धमा बहस आवश्यक रहेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको महिला तथा समाजिक समितिको हिजोको बैठकमा ‘महिला विरुद्ध हुने हिंसा, हत्या, बलात्कारसम्बन्धी घटना र कानून कार्यान्वयनमा देखिएका समस्या’ विषयमा छलफल गर्दैै १६ वर्षमुनिका बालिकालाई बलात्कार गरी हत्या गरेको पाइए मृत्युदण्डसम्मको कारबाही हुने सम्बन्धमा छलफल आवश्यक भएको बताएका हुन् । संविधानले मृत्युदण्डको परिकल्पना नगरेको अवस्था र नेपालले अन्तर्राष्ट्रिय महासन्धीमा हस्ताक्षर गरेको भएपनि मृत्युदण्ड दिने नदिने विषयमा छलफल आवश्यक भएको बताएका हुन् । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति समेत रहनुभएकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पूर्णकुमारी सुवेदीले दण्ड सजाय दिने विषयमा भावनात्मक कुरालाई अगाडि सार्न नहुने बताउनुभयो । उहाँले बलात्कार गरी हत्या गर्नेहरुलाई मृत्युदण्डकै सजायको कानून बनाउनुपर्ने बताउनुभयो । मृत्युदण्डको विषयलाई बहसको विषय बनाउनु आवस्यक रहेको उहाँको भनाइछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरीले बलात्कारपछि हत्या गर्नेलाई मृत्युदण्ड दिने कानून बनाउने सम्बन्धमा सबै राजनीतिक दलका महिला सांसदहरुबीच छलफल भएको बताउनुभयो । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले अन्तर्राष्ट्रिय महासन्धी अनुसार नेपालले मृत्युदण्ड हुनेगरी कानून बनाउन नसक्ने भएपनि यो विषयलाई छलफल आवस्यक रहेको बताउनुभयो । उहाँले प्राविधिक रुपमा अथवा संविधानको रुपबाट र अन्तर्राष्ट्रिय महासन्धीमा हस्ताक्षर गरेअनुसार कानूनमा मृत्युदण्ड राख्न नहुने भए त्यसमा पुनरावलोकन गर्न तयार हुनुपर्ने उहाँको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद विन्दा पाण्डेले जघन्य अपराध गर्नेहरुलाई जनताले तिरेको करबाट पाल्नेभन्दा पनि कडा कारबाही गर्ने विषयमा बहस केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *