विराटनगर १३ असोज
विराटनगर महानगरपालिकाले कक्षा–११ को परीक्षाको तालिका सार्वजनिक गरेपछि विभिन्न बिद्यालयका विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन् । विद्यार्थीहरुले हिजो महानगरपालिका अगाडि धर्ना दिदै मेयर भीम पराजुलीलाई स्मरणपत्र बुझाएका छन् । स्मरणपत्रमा बिश्वभरि कोरोना महामारिको जोखिम कायमै रहेको बेला विद्यार्थीहरुलाई कलेजमा बेलाएर परीक्षा संचालन गरिनु जोखिम रहेकाले निर्णयप्रति विद्यार्थीहरु असन्तुष्ट रहेको पत्रमा उल्लेख छ । विद्यार्थीहरुले कलेजमा नबोलाएर अनलाइन मार्फत परीक्षा लिन स्मरणपत्रमा उल्लेख गरेका छन् । कलेजमा बोलाएर परीक्षा लिदा हरेक दिन पीसीआर परिक्षण गर्न सम्भव नहुने र कोरोना संक्रमित भएका विद्यार्थीबाट अन्यलाई सर्ने, घरपरिवार र समाजमा फैलिई अवस्था भयावह हुन सक्ने भएकाले तत्कालको अवस्थामा विद्यार्थीलाई कलेजमा बोलाएर परीक्षा नलिई कुनै अन्य बैकल्पिक बिधिबाट परीक्षा लिन विद्यार्थीहरुको सुझाव रहेको छ ।
विराटनगर महानगरपालिकाभित्र कक्षा ११ को परीक्षा असोज २५ गतेबाट ३ कात्तिकसम्म सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक भएको छ । स्मरणपत्र बुझ्दै मेयर पराजुलीले संघीय सरकारअन्तर्गतको शिक्षा मन्त्रालयको पत्र अनुसार नै परीक्षाको तालिका सार्वजनिक गरेको बताउनुभयो । उहाँले स्थानीय तहले परीक्षाका लागि समन्वय मात्र गर्ने तर परीक्षा सञ्चालन वा रद्द गर्ने अधिकार राष्ट्रिय परीक्षा बोड्लाई मात्र रहेको बताउनुभयो । उक्त धर्नालाई साझा युवा संगठन प्रदेश नम्बर १ ले समर्थन गरेको थियो ।