झापा १३ असोज
नाडेप लघुवित्त वित्तीय संस्थाका कर्मचारीले आर्थिक अनियमिता गर्ने गरेको रहस्य खुलेको छ । धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकको ‘घ’ वर्गको इजाजत प्राप्त वित्तीय संस्थामा कार्यरत कर्मचारीले झापाका समूह सदस्यकै किर्ते हस्ताक्षर गरी आर्थिक अनियमितता गरेपछि यस्तो रहस्य बाहिर आएको हो । डिप्रोक्सको नामबाट यसअघि संस्थाले जिल्लाको गाउँ गाउँमा महिला समूह गठन गर्दै बचत तथा ऋणका कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए । तर, संस्थाको नाम परिर्वतन पछि नाडेप लघुवित्त वित्तीय संस्थाका नामबाट अहिले बचत तथा ऋणको कारोवार भइरहेको छ । संस्थाका कर्मचारीले समूहमा आवद्ध सदस्यहरुको किर्ते हस्ताक्षर गर्दै रकम कुम्ल्याएपछि समूहमा आवद्ध अधिकांश सदस्यको उठिबास लाग्ने अवस्था पुगेको छ । बाह्रदशी गाउँपालिका–६ निवासी डिल्लीराम कँडेलको पनि समस्या उस्तै छ । कँडेलकी श्रीमती कल्पनाले पनि समूहमा आवद्ध हुँदै बचत तथा ऋणको कारोवार गर्नुभयो । कारोवार गर्ने क्रममा समूहबाट लिएको सबै ऋण चुक्ता गरेर चार वर्ष अघि नै उक्त समूहबाट बाहिरिएपनि उहाँको पनि नाममा संस्थामा ऋण देखिएको कल्पनाका श्रीमान डिल्लीरामले बताउनुभयो ।
बाह्रदशी गाउँपालिका–६ काँक्रामारी निवासी देवका संग्रौलाले आठ बर्ष अघि बिर्तामोडमा रहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडबाट ५० हजार रुपैयाँ ऋण लिनुभयो । तत्कालीन डाँगीबारी गाविसको काँक्रामारीमा सो संस्थाले महिला समूह गठन गर्दै ऋण तथा बचतको कार्यक्रम सञ्चालन गरेपछि संग्रौला पनि समूहमा आवद्ध हुँदै बचत र ऋणको कारोबारमा संलग्नता जनाउनुभयो । संग्रौलाले आठ वर्ष अघि संस्थाको केन्द्र नम्बर ९३ मा सदस्य बन्दै ५० हजार रुपैयाँ ऋण लिनुभयो र पाँच वर्ष अघि नै आफूले लिएको ऋण चुक्ता पनि गर्नु भयो । तर, संस्थाले उहाँको नाममा एक लाख ७५ हजार रुपैयाँ ऋण देखाएको उहाँको भनाई छ । संग्रौल, उप्रेती र कँडेलमा संस्थामा आवद्ध प्रतिनिधि मात्रै हुन् । उनीहरु जस्ता समूहमा आवद्ध धेरैले अहिले यही समस्या झेलिरहेका छन् । संस्थाको समूह नम्वर ९३ मा रहेका सबैजसो सदस्यका नाममा लिँदै नदिएको ऋण देखाएपछि सो समूहका सदस्य र सर्वसाधारणले संस्थाको उपशाखा कार्यालय बिर्तामोड घेराउ गर्दै आफूहरुले बचत गरेको रकम फिर्ता गर्न माग गरेका छन् । यता संस्थाका उपशाखा प्रमुख राजेन्द्र खतिवडाले भने यसअघि रहेका कार्यालय प्रमुखको बदमासीका कारण संस्थामा यस्तो समस्या आएको बताउनुभयो । समूहमा आवद्धमध्ये तिलककुमारी राई, प्रेमकुमारी पौडेल, लीला संग्रौला, मीना पौडेल, लीला कट्टेल, धनमाया लिम्बूलगायत दर्जन बढीको नाममा किर्ते हस्ताक्षर गर्दै २० लाख रुपैयाँभन्दा बढी संस्थाले ऋण लगानी गरेको र उनीहरुले ऋण लिएको देखिन्छ । अधिकांश ऋण चुक्ता गरिसकेकाले बचत रकम पाउनुपर्ने माग राख्दै आइरहेका छन् ।