काठमाण्डौ १० असोज
नेपाल विद्युत प्राधिकरणले यदा कदा विद्युत आपूर्तिमा आउने अवरोधलाई जोडेर अब लोडसेडिङ हुन थाल्यो भन्ने जस्ता अफवाह सुनिन थालेको बताएको छ । मर्मत सम्भार गर्दा आपूर्तिमा समस्या आएको बताउँदै प्राधिकरणले लोडसेडिङ सुरु भएको कुरामा कुनै सत्यता नभएको दाबी गर्दे त्यस्तो अवस्था नरहेको व्यहोरा सरोकारवामा अनुरोध गरेको छ । प्राधिकरणले प्राधिकरण आम उपभोक्तामा थप भरपर्दाे र नियमित विद्युत सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएको छ । निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङ प्राधिकरणमा कार्यकाल सकेर बिदा भएसँगै समय समयमा बत्ती जान थालेको छ । त्यसलाई प्राधिकरणमा सफल कार्यकाल सकेर बिदा भएका घिसिङसँग जोडिने गरेको छ । प्राधिकरणले प्रशारण एवं वितरण लाइनको सञ्चालन तथा विद्युत आपूर्तिको निरन्तरता, विद्युत महसुल र भुक्तानी सम्बन्धमा उपभोक्ता महानुभावले हालैको समयमा देखाउनुभएको चासो र चिन्ताको सम्बन्धमा प्राधिकरण सजग रहेको समेत बताएको छ । नियमित रुपमा गर्नुपर्ने मर्मत सम्भार तथा प्रणाली सुधारको कार्य गर्नु पर्दा विद्युत आपूर्ति विच्छेद गर्नुपर्ने भएकाले यस्तो अवस्थामा विद्युत आपूर्तिमा निर्धारित समयसम्म अवरुद्ध हुने प्राधिकरणले बताएको छ ।