काठमाण्डौ १० असोज
गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न सहमति दिएको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी मंसिरमा महासंघको साधारणसभा एवं चुनाव गर्न गृह मन्त्रालयबाट सहमति प्राप्त भएको बताउनुभयो । गृह मन्त्रालयले विद्युतिय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनको मतदान गर्दा एक पटकमा २५ जनाभन्दा बढी जम्मा नहुने लगायत स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी गर्न अनुमति दिएको गोल्छाले बताउनुभयो । यससँगै महासंघको चुनाव मंसिर दोस्रो साता हुने भएको छ । वरिष्ठ उपाध्यक्ष गोल्छाले अव छिट्टै नै साधारणसभा र चुनावको मिति तोकिने बताउनुभयो । उहाँले स्वास्थ्य मापदण्डको सम्बन्धमा सरकारले तत्कालिन समयमा जारी गरेका मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने र आवश्यक परेमा ३÷४ वटा ठाउँबाट दुई दिन सम्म गरेर भएपनि चुनाव गरिने स्पस्ट पार्नुभयो ।
महासंघले आगामी मंसिर दोस्रो साता साधारणसभा एवं चुनाव गर्नका लागि गृह मन्त्रालयसँग स्वीकृति माग्दै पत्र पठाएको थियो । सोही पत्रको जवाफ दिदै मन्त्रालयले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी चुनाव गर्न सहमति दिएको हो । कोभिड–१९ का कारण देशभर लकडाउन हुँदा २०७६ चैत महिनामा हुनुपर्ने महासंघको महाधिवेशन रोकिएको थियो ।