Friday, November 22, 2024
Home > आर्थिक समाचार > बजार र पसल खुले पनि कोरोनाको त्रासले ग्राहक नआउँदा विराटनगरका व्यवसायी समस्यामा

बजार र पसल खुले पनि कोरोनाको त्रासले ग्राहक नआउँदा विराटनगरका व्यवसायी समस्यामा

बिराटनगर ७ असोज
लकडाउन र निशेधाज्ञा खुलेर नियमित रुपमा विराटनगरमा बजार, पसल सञ्चालनमा आएका छन् । बजार र पसल खुले पनि कोरोनाको त्रासले ग्राहक नआउँदा विराटनगरका व्यवसायी समस्यामा परेका छन् । कोरोना माहामारी नियन्त्रण गर्न ६ महिना लामो लकडाउन र निशेधाज्ञा हटे पनि कोरोना संक्रमण अझै घट्न सकेको छैन । कोरोना संक्रमणको त्रासकै कारण उपभोक्ता किनमेलका लागि बजार नआउँदा लामो समयपछि व्यवसाय सञ्चालनमा ल्याएका विराटनगरका व्यवसायी चिन्तित बनेका छन् । पसल खोले पनि पर्याप्त उपभोक्ता नआएका कारण व्यापार नभएको विारटनगरका व्यवासायी सन्तनु रेग्मीले बताउनुभयो । उहाँका अनुसार व्यापारको स्थिति नाजुग रहेको छ । ६ महिना आम्दानी नहुँदा पनि खर्च चाहिं उस्तै रहेकका कारण व्यवसायी समस्यामा परेको उहाँको भनाइ छ ।
६ महिनासम्म व्यापार नहुँदा व्यापारीहरूलाई ऋणले थिचेको अर्का व्यवसायी सुदामा साह बताउनुहुन्छ । उहाँका अनुसार पसल खोले पनि ग्राहक नआउँदा व्यवसाय सञ्चालनमै समस्या भएको छ । लामो समय व्यापार ठप्प हुँदा घर भाडा मात्रै हैन विजुलीको वीलसमेत तिर्न समस्या भएको साहले बताउनुभयो । लामो समयको बन्दाबन्दीले व्यवसायीहरूलाई मानसिक समस्या देखिन थालेको खुद्रा व्यवसायी संघ मोरङका अध्यक्ष सञ्जय मण्डल बताउनुहुन्छ । मण्डलका अनुसार कोरोना महामारी अझै पनि नियन्त्रणमा आइनसकेका कारण तत्कालै व्यवसाय फर्कने सम्भावना न्यून छ । व्यापार व्यवसायलाई जोगाइराख्न सरकारले पनि सहयोग गर्नुपर्ने उहाँको भनाई छ । कोरोना महामारीका कारण साना व्यवसायीहरू समस्यामा परेका छन् । लामो समयसम्म व्यापार व्यवसाय ठप्प हुँदा खर्च यथावत रहेको र आम्दानी गुमाउनुपरेका कारण व्यवसायीलाई आम्दानी र खर्चको सन्तुलन मिलाउन मुस्किल परेको छ । कोरोनाको महामारी नियन्त्रणमा आइनसकेका कारण तत्कालै व्यापार व्यवसाय पुरानै लयमा आउने अवस्थासमेत छैन । साना व्यवसाय रोजगारीको मुख्य आधार भएकाले साना व्यवसायीलाई व्यवसायमा टिकाइ राख्न सरकारले राहत र पुनरुत्थानका लागि नीतिगत व्यवस्था गर्नु आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *