मोरङ ६ असोज
मिथिलाको लोकगाथाहरुसंग जोडिएको प्राचिन लोकनाचहरु लोपहुने संघारमा छन । मनोरञ्जनका नया साधनहरुको आविष्कार तथा संस्कृतिप्रतिको उदासिनताका कारण शताब्दियौं अघिदेखि चलिआएको लोकनाचहरु लोप हुन लागेको हो । तीन दसक अघिसम्मपनि मिथिलाञ्चलका सहरी र ग्रामिण भेगहरुमा प्रशस्तै लोकनाचहरुको आयोजना हुने गथ्र्यो । गांउ र शहर डुलेर नाच प्रस्तुत गर्ने मण्डली र टोलीहरुपनि प्रशस्तै थिए । तर समय बदलिएको छ । विज्ञानप्रबिधिको विकाससंगै मनोरञ्जनका आधुनिक विकल्पहरु आएपछि सांस्कृतिक महत्वका अन्य धेरै कुराहरुसंगै मिथिलाको मौलिक नाच समेत लोपहुने संघारमा छ । प्रत्यक्ष गीतसंगित,नृत्य र अभिनय प्रस्तुत गरिने नाचहरुमा ऐतिहासिक र पौराणिक लोकगाथाहरुलाई सांगितिक माध्यमबाट दर्सकसामु प्रस्तुत गरिन्छ ।
मनोरंजनका नयाँ आविष्कारहरुका कारण लोकनाचहरुको अस्तित्व संकटमा रहेपनि अहिलेपनि यो कलालाई मनपराउनेको संख्या भने उल्लेख्य छ । दशैंतिहारको अवसरहरुमा आयोजना गरिने लोकनाचहरुमा दर्शकको उपस्थितिले समेत यो कलाको महत्व झल्काउँछ । लोकनाचहरुमा ऐतिहासिक गाथाहरुलाई संगित र अभिनयको माध्यमबाट प्रस्तुत गरिने भएकाले पाका दर्शकहरुले मनपराउने गरेको सम्बद्ध कलाकर्मी बताउँछन । यस्तो पारम्परिक नाचहरुमा पुरुषहरुले नै महिलाको भुमिका समेत निर्वाह गर्ने प्रचलन छ । लोकनाचहरुबाट पर्याप्त आम्दनी नहुने भएपनि कला प्रर्दशन गर्न पाउँदा आत्मसन्तुष्टि भने प्राप्त हुने गरेको कलाकारहरु बताउँछन । नाच कम्पनीमा काम गर्ने अधिकांश कलाकारहरु जीविकोपार्जनकानिम्ति अन्य पेशामा समेत आबद्ध रहने गरेका छन ।
मिथिलाक्षेत्रमा सातौँआठौँ शताब्दीदेखि नै लोकनाचहरु प्रचलनमा आएको संस्कृतिका जानकारहरु बताउँछन । मिथिलाञ्चलको ऐतिहासिक प्राचीन नाचहरुमा अल्लाह रुदल, राजा सलहेश, शितवसन्त, रुनाझुना, बादशाह, गोपीचन्द, कुँवर बृजमान, सुन्दर वनके सुन्दर फूल, गुगलीघाट, सांमाचकेवा, कमला मैयाजस्ता नाचहरु प्रमुख छन । यसैगरि जयविषहरा, दुलहा दयालसिंह, विदेशिया, दिनाभद्री, लोरिक, राजानल, राजा हरिश्चन्द्र, सती विहुला, कारिक, महराई शोखामहाजन, महराई कारिक महाराज, झगडु मल जस्ता नाचहरुलाई समेत प्राचिन ऐतिहासिक नाचकोरुपमा लिने गरिन्छ । यि मध्ये अधिकांश नाचहरु लोप भइसकेका छन भने केहि लोप हुने संघारमा पुगेका छन ।