चितवन ३ असोज
कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रिय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दा सम्म खुल्न सकेको छैन । विश्वविद्यालय पदाधिकारीको अभावमा अस्वस्थ्य बन्दै गएको छ । यहाँ अधिकांश जसो पदाधिकारी निमित्तको भरमा चल्दै आएको छ । सोही विश्वविद्यालयको नेपाल राष्ट्रिय कर्मचारी संगठनको नेतृत्वमा अस्थाई र करार कर्मचारीहरु सहितले विश्वविद्यालयमा साउन १२ गते तालाबन्दी गरेका हुन । उनीहरुले केन्द्रीय कार्यालयसंगै कृषि र भेटेनरी संकायमा पनि तालाबन्दी गरेका छन् । संगठनका अध्यक्ष अचल शाक्यले त्यहाँ कार्यरत २४ जना करार कर्मचारीलाई स्थायी र ८५ जना ज्यालादारी कर्मचारीलाई करार सहितका बिभिन्न माग राख्दै तालाबन्दी गरिएको बताउनुभयो । हाल उपकुलपतिको जिम्मेवारी पाउनु भएकी डा. शारदा थपलियाले आफ्नो अधिकार वाहिर गएर अन्य सबै काम गरेको भए पनि आफ्ना मागहरु सम्बोधन गर्ने बिषयमा अनुदार भएकै कारण तालाबन्दी गर्नु परेको शाक्यको भनाई छ । थपलियाले अहिले तत्काल उहाँहरुको माग सम्बोधन गर्न नसकिने जानकारी दिनुभयो । सो विश्वविद्यालयमा १ वर्ष अघि दैनिक काम काज गर्ने गरि जिम्मेवारी पाउनु भएकी थपलियालेनै उपकुलपतिको काम गर्दै आउनुभएको छ ।