काठमाण्डौ २ असोज
प्रतिष्ठित अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउन्डेसनको सहयोगमा हेल्थ इन्भारोमेन्ट एण्ड क्याइमेट एक्सन फाउन्डेसन (हेकाफ ३६०)ले सरकारलाई २० वटा भेन्टिलेटर सहयोग गरेको छ ।
विश्वव्यापी महामारी कोभिड–१९ को समस्यासँग सामना गर्न नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्य अनुरुप हेकाफ ३६० ले २० वटा जीवन रक्षक बाईप्याक भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । हेकाफले अत्यावश्यक भेन्टिलेटर सहित पिपिई, पञ्जा, गाउन, मास्क, थर्मोमिटरलगायत गरी करिब ९५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको हो । स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विपदको अवस्थामा सहयोग गरेको भन्दै खुःशि व्यक्त गर्नुभयो । मन्त्री ढकालले फाउण्डेसनले उपलब्ध गराएको सामग्रीको अधिकतम उपयोग गरी विरामीको जीवन रक्षा गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कोभिड १९ विरुद्ध समय परिवर्तन हुँदै जाँदा फरक फरक तरिकाले लडनुपरेको बताउनुभयो । कुनै समय पिपिई लगायतका स्वास्थ्य सामग्रीको व्यवस्था गर्नुपरेकोमा पछिल्लो समय अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नुपरिरहेको मन्त्री ढकालले बताउनुभयो । यस अघि पनि हेकाफ ३६० ले जेठ २१ ग्ते सरकारलाई ३० वटा बाईप्याप भेन्टिलेटर सहित एक करोड २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सरकारलाई उपलब्ध गराएको थियो । हेकाफ ३६० का अध्यक्ष तथा कार्यकारी निर्देशक महेश नकर्मीले अहिलेको अत्यन्तै भयावह परिस्थितिमा चुजी फाउन्डेसनद्धारा नेपाललाई सहयोग प्राप्त भएकोमा अभार व्यक्त गर्नुभयो ।