बारा ३१ भाद्र
कोरोना प्रभावपछि जारी लकडाउन र निषेधाज्ञाका कारण बाराका केरा किसान समस्यामा परेका छन् । गत चैत ११ गतेदेखि चलेको लकडाउन र स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञाका कारण केरा उत्पादक किसान समस्यामा परेका हुन् । कोरोनाले अन्य क्षेत्र जस्तै कृषिलाई पनि बढी असर गरेका बेला केरा उत्पादक किसानहरु समस्यामा परेका हुन् । देश लकडाउनमा परेपछि बाराका केरा किसानका केरा बारीमै कुहिन थालेका छन् । किसानको उत्पादन भएको केरा बजारमा जान नपाएपछि बारीमै सड्न थालेको हो । गत चैतदेखि नै स्थानीय उत्पादनको आपेक्षकृत रुपमा बजारीकरण हुन सकेको छैन । कहिले सवारी साधनमा जोर बिजोर प्रणली लागू हुने गरेको छ, त कहिले खानेकुराबाट कोरोनाको संक्रमण फैलिन्छ भन्ने हल्लाका कारण स्थानीय उत्पादनले बजार नपाएको हो । केरा खेतीबाट मनग्य आम्दानी गर्ने आशमा लगानी गरेका बारा निजगढका केरा उत्पादक किसान अहिले निराश बनेका छन् । केरा व्लकबाट बिकसित हुँदै केरा जोनमा आई पुग्न लागेको बाराको निजगढ नगरपालिकाका केरा व्यवसायीका केरा खेतबारीमै कुहिन थालेको छ । खेतबारीबाटै प्रति कोसा ५ रूपैयाँमा बिक्री हुँदै आएको केरा बिगत लामो समयदेखि चलेको लगडाउनले प्रतिकोसा १ रुपियाँ पनि मुल्य नपाएपछि केरा खेतबारीमै कुहिन थालेको हो । नगदे बाली उखु खेति गर्दै आएका बाराका किसानलाई चिनी मीलहरुले समयमा भुक्तानी नदिएपछि पछिल्लो समय पेशा परिवर्तन गर्दै केरा खेतितर्फ आकर्षित हुँदै आएका थिए । निजगढ नगरपालिकाभित्र मात्रै करिब १२ सय बिघाभन्दा बढी क्षेत्रफलमा किसानहरुले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । प्रति बिघा दुईदेखि तीन लाखसम्म मुनाफा लिदै आएका किसानहरुले केराको मूल्य नपाएपछि वस्तु भाउलाई खुवाउन थालेका छन् । निजगढ नगरपालिका वडा नं.९ की लक्ष्मी खरेलले मुल्य नपाएपछि गाईवस्तुलाई केरा खुवाउन थालेको बताउनुभयो । अघिल्ला वर्षमा यो सिजन केराबारी वरपर गाडीका लाइन लाग्थे, अहिले भने सुनसान छ । यही हिउँद र वर्षामा आएको हावाहुरीको नोक्सानी र लामो समयको लगडाउनले निम्त्याएको यो महामारीले निजगढका केरा व्यवसायी उठ्न नसक्ने अवस्थामा पुगेका छन् । केराले मूल्य नपाएपछि व्यवसायीका केरा खेतबारीमै कुहिएका छन् भने केहिले आफ्ना बस्तु भाउलाई खुवाउने गरेको अर्का किसान बद्रीप्रसाद चिमरियाले बताउनुभयो । यता निजगढ नगरपालिकाले बिभिन्न कारणले निम्त्याएको यो बिपतबाट किसानहरुको मनोवल गिर्न नदिनका लागि प्रदेश, केन्द्र सरकारसँग राहतका निम्ति पहल गर्ने निजगढ नगरपालिकाले जनाएको छ ।
यता निजगढ नगरपालिका केरा व्लकबाट बिकसित हुँदै केरा जोनको रुपमा स्थापित यस नगरपालिकाभित्र मात्रै करिब १२ सय बिघाभन्दा बढी क्षेत्रफलमा यहाँका किसानहरुले व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन् । प्रतिबिघा दुईदेखि तीन लाखसम्म मुनाफा लिदै आएका किसानहरुले केराको मुल्य नपाएपछि चिन्तित बनेका छन् ।