Sunday, November 24, 2024
Home > मुख्य समाचार > लकडाउन र निषेधाज्ञाका कारण दैनिक ज्याला–मजदुरी गरेर जीविकोपार्जन गर्र्दै आएकाहरुको दैनिकी कष्टकर

लकडाउन र निषेधाज्ञाका कारण दैनिक ज्याला–मजदुरी गरेर जीविकोपार्जन गर्र्दै आएकाहरुको दैनिकी कष्टकर

बारा २९ भाद्र
कोरोना भाइरस सङ्क्रमणको त्रास र लकडाउनको अवस्था । त्यसो त हुनेले दैनिक उपभोग्य सामान जोहो गरेर घरैमा सुरक्षित बसेका होलान् र जो नहुने छन्, दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन्, उनीहरूको दैनिकी भने निकै कष्टकर बन्दै गएको छ । जसले रिक्सा, ठेला ज्याला मजदुरी गरेर दैनिक कमाइबाट परिवारको भोको पेट भरिरहेका छन् उनीहरूको घरमा चुलो बल्न छोडिसकेको छ । बिश्रामपुर गाउँपालिकाका सुकुम्बासीहरुको हालत अहिले निकै कष्टकर छ । न खानलाई रासन छ, न गर्नलाई काम नैं । लामो लकडाउन र निषेधाज्ञाका कारण काम गर्न जान नपाउँदा खानाको जोहो गर्न निकै समस्या भएको स्थानीय हृदयदेवी यादवको भनाइ छ । स्थानीय निर्जादेबीको पीडा पनि यादवकै जस्तै छ । खर्च र खाद्यान्न सकिएपछि दुई छोराछोरी र बिरामी सासुलाई खाना खुवाउन समस्या भएको उनको भनाइ छ । उनि आफुसमेत बिरामी छिन् र पटकपटक गाउँपालिकासँग राहतको आशा लिएर गए पनि खाली हात फर्कनु परेको बताउँछिन् । लकडाउन अघि गाउँमा विकास निर्माणका काम गर्दै ज्यालाबाट आएको कमाईले छोराछोरी र परिवारलाई खाना दिने गरेकोमा अहिले समस्या भएको छ । विश्रामपुर गाउँपालिकामा रहेको सुकुम्बासीहरुमध्ये करिब २५ घरको चुलो निभिसकेको छ । दैनिक मजदुरी गरेर छाक टार्ने र बर्सेनी भारत गएर कमाई गरी ल्याएको पैसाले खाद्यान्न र लत्ताकपडा खरिद गर्ने यहाँका सुकुम्बासी र दलित समुदायको बाध्यता हो । जनप्रतिनिधिले राहत वितरणमा पनि विभेद गरेको उनीहरुको आरोप छ । लकडाउनको अवधिमा खाद्यान्न अभावमा छाक टार्न समस्या हुने विपन्न परिवारलाई वितरणका लागि प्रदेश सरकारले दिएको १५ लाख रुपैंयाँको कार्यविधि मिच्दै मनोमानी ढंङ्गले पालिकाहरुले राहत बाँडेको पाइएको छ । गाउँपालिकामा कर्मचारीको अभाव रहेको भन्दै गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतले गाउँपालिकाभित्र करिब ४ सय २५ सुकुम्बासी भएको बताउँदै तत्काल राहत वितरण गर्न नसकिने बताउनुभयो । दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका सुकुम्बासीहरुलाई गाउँपालिकाले दिने राहतको थोरै आश थियो । तर , गाउँपालिकाले राहत नदिएपछि आशा निराशामा परिणत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *