काठमाण्डौ २७ भाद्र
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले आगामी चैत अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । करिब डेढ महिना स्थगित भएपछि हिजो बसेको बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको तयारी सम्बन्धि कामलाई अगाडी बढाउन आगामी कात्तिक १५ देखि १७ सम्म केन्द्रिय कार्यसमिति बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । बैठकले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पूर्ण रुपमा पुष्पकमल दाहालले सम्हाल्ने निर्णय पनि गरेको छ । यसअघि गत मंसिरमा दाहालले कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने निर्णय भए पनि कार्यान्वयनमा समस्या आएकाले त्यसलाई हिजोको बैठक थप व्याख्या गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । स्थायी समितिको निर्णयसँगै प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालन र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुनुहुनेछ । प्रवक्ता श्रेष्ठले पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन ओलीले गर्ने बताउनुभयो । सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत महत्व र राष्ट्रिय महत्वका निर्णय गर्दा पार्टीको मार्गनिर्देशनलाई ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि भएको छलफलमा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल लगायत १३ जना सदस्यले आफ्नो धारणा राख्नुभएको छ । बैठकमा आएका धारणा र लिखित रुपमा सदस्यहरुले पेश गरेका सुझावहरुलाई समेत प्रस्तावमा समावेश गरी पारित भएको उहाँले बताउनुभयो । कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारले गरेका कामहरु सकारात्मक रहेको बैठकले निष्कर्ष निकालेको छ । अमेरिकी सहयोग परियोजना एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय पनि नेकपाले गरेको छ ।