Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ धनुषालगायत मिथिलाञ्चल क्षेत्रमा आजदेखि धार्मिक विधिअनुसार सुरु

मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ धनुषालगायत मिथिलाञ्चल क्षेत्रमा आजदेखि धार्मिक विधिअनुसार सुरु

धनुषा २४ भाद्र
सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ धनुषालगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् । त्यसैगरी बिहीबार बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी शुक्रबार बिहान व्रत सम्पन्न गर्नेछन् । सयौँ बर्तालुले गंगा सागरलगायतका धार्मिक सरोवारमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ । व्रत बस्नु अघिल्लो दिनमै बर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेल सहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेल मध्येबाट आ–आफना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ । आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ । त्यसैगरी विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाहरु ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात केही खानेकुरा ओठमा लगाउनुपर्छ तर यसपल्ट ओंगठन खाने साइत छैन । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *