Friday, November 22, 2024
Home > आर्थिक समाचार > धानमा किरा लागेपछि मोरङका किसान समस्यामा,गुभो नै मर्न थालेपछि किसानहरुमा उत्पादन घट्ने चिन्ता

धानमा किरा लागेपछि मोरङका किसान समस्यामा,गुभो नै मर्न थालेपछि किसानहरुमा उत्पादन घट्ने चिन्ता

बिराटनगर २४ भाद्र
धानमा किरा लागेपछि मोरङका किसान समस्यामा परेका छन् । धानमा किरा लागेर धानको गुभो नै मर्न थालेपछि यो वर्ष धान उत्पादन घट्ने चिन्ताले किसानलाई सताएको छ ।
मौसमले साथ दिएर पर्याप्त वर्षा भएपछि धान उत्पादन बढ्ने आशा गरेका मोरङका किसान धानमा रोग लागेपछि चिन्तित भएका छन् । धानमा किरा लागेर गुभो नै मर्न थालेपछि धान उत्पादन घट्ने अवस्था आएको विराटनगर –१९ का किसान तिलकराम भगतले बताउनुभयो । सुरुमा धान राम्रो भए पनि विस्तारै किरा लागेर रातो हुन थालेको उहाँको भनाई छ ।
तिलकराम मात्रै होइन विराटनगर–१९ का अर्का किसान मनराज चौधरी पनि किरा लागेर धानको उत्पादन घट्ने अवस्थामा पुगेको बताउनुहुन्छ । किरा लागेर धानको उत्पादन घटे किसानलाई मर्का पर्ने मनराजको भनाइ छ ।
धानमा किरा लागेर रातो भए पनि कुन औषधिको प्रयोग गर्ने भन्ने जानकारी किसानहरूलाई छैन । उनिहरू कृषि प्राविधिको सल्लाह विनै धानमा औषधिको प्रयोग गरिरहेका छन् । जथाभावी औषधिको प्रयोगले धानबालिलाई हानी पुर्याउने कृषि प्राविधिकहरू बताउँछन् । सकेसम्म औषधिको प्रयोग नगर्ने तर, केही गरे पनि किरा नियन्त्रणमा नआए मात्रै सिपारिस गरिएका औषधि प्रयोग गर्नुपर्ने उनिहरूको सुझाव छ । धानमा किरा लागे जैविक तरिकाले पनि किरा नियन्त्रण गर्न सकिने वाली प्रयोगशाला विराटनगरका प्राविधिक सहायक घनश्याम बराल बताउनुहुन्छ । धानमा पानीको मात्रा घटबढ गरेर किरा नियन्त्रणमा लिन सकिने उहाँको भनाइ छ ।
धानमा रोग र किरा लागेर बार्षिक रुपमा धेरै बालि नोक्सानी पुगिरहे पनि कृषि प्राविधिकको पहुँच किसानसम्म नपुग्दा मोरङका किसान पिडीड हुने गरेका छन् । कुन रोगका लागि कुन विषादी प्रयोग गर्ने भन्ने ज्ञान पनि किसानहरूलाई छैन । कृषिका प्राविधिकलाई कहाँ र कसरी सम्पर्क गर्ने भन्ने जानकारी पनि किसानलाई छैन । न त सरकारले नै किसानको घर दैलोमै कृषि प्राविधिकहरूले सेवा पुर्याउने व्यवस्था गरेको छ । समयमै रोग किराको नियन्त्रण गर्न र बालिलाई नोक्सान हुनबाट बचाउन सरकारले कृषि प्राविधिकहरूको पहुँच किसानसम्म पुर्याउन जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *