Monday, November 25, 2024
Home > मुख्य समाचार > बारामा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र रहेका रुख विरुवाको गणना सुरु

बारामा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र रहेका रुख विरुवाको गणना सुरु

बारा २१ भाद्र
बारामा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र रहेका रुख विरुवाको गणना सुरु भएको छ । विरुवाको गणना सुरु भएसँगै विमानस्थल निर्माण हुनेमा स्थानीयवासी आशावादी बनेका छन् ।  विमानस्थल निर्माण गर्दा ठूलो संख्यामा रुख काटिने हल्ला र विवादलाई चिर्न भन्दै वन मन्त्रालयले रुख विरुवाको एकिन तथ्याङ्क निकाल्न लागेको हो । विमानस्थल निर्माणस्थलमा भएको करिब आठ हजार हेक्टरमध्ये अहिले १९ सय हेक्टर क्षेत्रको गणना गर्न डिभिजन वन कार्यालय बारालाई पत्राचार गरेपछि रुखको गणना र ट्याग गर्ने कार्य सुरु गरेको हो । विमानस्थल निर्माणका लागि सरकारले छुट्याएको आठ हजार ४५ हेक्टर भू–भागमध्ये वन कार्यालय बाराले जि.पि.एस प्रणालीमार्फत पहिलो चरणमा १९ सय हेक्टरभित्र रहेका रुखहरुको गणना गरिरहेको छ । १९ सय हेक्टर वन क्षेत्रलाई १२ क्लष्टरमा विभाजन गरी कार्य थालनी गरेको डिभिजन वन कार्यालय बाराले जनाएको छ । पहिलो क्लष्टरको गणना गर्ने कार्य सकिएको डिभिजन वन प्रमुख मन्जुर अहमदले बताउनुभयो । पहिलो क्लष्टरको करिब ९८ हेक्टर क्षेत्रफलमा गणना सकिँदा २७ हजार पाँच सय ३३ को संख्यामा पोल र रुख रहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ । अहिलेसम्म ३० हजार ६ सय पोल र रुखहरुमा नम्बर प्लेट लगाइसकेको र जसमध्ये अधिकांश साल प्रजातिका रुखहरु भएको समेत डिभिजन वन कार्यालय बाराले जनाएको छ । वन प्राविधिकसहित १७ जनाको टोलीले करिब एक महिनादेखि रुखको गणना गर्ने कार्य गर्दै आइरहेको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको काम अगाडि बढाउन मन्त्रिपरिषद्ले निर्णय गरेमा रुख र पोलको संख्या यकिन गर्न यो तथ्यांक काम लाग्ने डिभिजन वन कार्यालय बाराले जनाएको छ । यसको मुख्य उद्देश्य प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल क्षेत्रमा २४ र २५ लाख रुख काटिने भनेर गलत प्रचार भएकाले वास्तवमै यो क्षेत्रभित्र रुख र पोलको संख्या कति छ भनेर प्रमाणित गर्न गणना सुरु गरिएको हो । विमानस्थलको विषय सर्वाेच्च अदालतमा बिचाराधिन भएकाले अदालतले पनि रुख र पोलको संख्या कति छ ? भनेर तथ्यांक मागेकोमा त्यसका लागि यकिन तथ्यांक दिन काम लाग्ने डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमतले बताए । यसअघि विमानस्थल निर्माण क्षेत्रलाई तारबार लगाउने, पश्चिमतर्फको पसाह खोलामा तटबन्द र मुआव्जासमेत वितरण गरिसकेको दोस्रो अन्तराष्ट्रिय विमानस्थल कार्यालय सिमराले जनाएको छ । यस विमानस्थल क्षेत्रको चार किल्लाभित्र रहेका रुख, विरुवामा नम्बरिङ्ग, ट्रयागिङ्ग कार्य शुरु गरिएसँगै विमानस्थल बन्ने आशा पलाएको छ । हालसम्म विमानस्थल निर्माण गरिनु पूर्व तयारीका कार्यका लागि ६७ करोडभन्दा बढी खर्च भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *