मोरङ २० भाद्र
मोरङको लेटाङ जाँतेका किसानहरुले तरकारी खेती गरेर राम्रो आम्दानी लिने गरेका छन् । तर भारतबाट आउने तरकारीका कारण भने आफुहरुले उचित मुल्य पाउन नसकेको उनीहरुको गुनासो छ । मोरङको लेटाङ–८ जाँतेका कृषक सरोज तिम्सिनाको परिवार नै तरकारी खेतीमा लाग्नु भएको छ । २ दश अघिदेखि तरकारी खेति गर्दै आएका तिम्सिनाले यसैको आम्दानीबाट घरपरिवार चलाउनुका साथै ३ भाइ छोरालाई उच्च शिक्षा समेत अध्ययन गराउन सफल हुनु भएको छ । तीनै भाइ छोराहरुले उच्च शिक्षा हासिल गरेर आफ्नो बाटो समातिसक्दा समेत तिम्सिनाले भने तरकारी खेति छाड्न सक्नु भएको छैन । बरु अझ यसलाई व्यवस्थित बनाउँदै लग्नु भएको छ । तिम्सिना दम्पतिले २ दशक लामो तरकारी खेतीको अनुभवले यसका केही समस्याहरु देख्नु भएको छ । तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिने भएपनि सहज रुपमा भित्रिने भारतीय तरकारीसंग प्रतिस्पर्धा गर्नु पर्ने तथा व्यापारीहरुले तोकेको मुल्यमा विक्री गर्नु पर्ने मुख्य समस्या रहेको उहाँको भनाइ छ । मिहीनेत अनुसार तरकारी खेतीबाट राम्रो आम्दामी लिन सकिने भन्दै तारादेवीले बार्षिक रुपमा ९ कठ्ठा जमिनबाट ४ देखि ५ लाख सम्म आम्दामी गर्ने गरेको बताउनुभयो । तरकारी उत्पादनका दृष्टिकोणले उर्भरभूमी भएको जाँते क्षेत्रमा तरकारी खेतीबाट राम्रो आम्दामी लिन सकिने भएपनि किसानहरुका लागि प्राविधिक ज्ञान, सहुलियतमा ऋण, तालिम र सिचाई सुविधाको अभावले गर्दा सोचे जस्तो उत्पादन लिन नसकेको उनीहरुको गुनासो रहेको छ । तरकारी खेती गर्ने हो भने कमाउनकै लागी विदेशीनु नपर्ने र आफ्नै गाँउ घरमा मै तरकारी खेती गरेर राम्रो आम्दामी गर्न सकिने अवस्था रहेको कृषक सरोज तिम्सिनाको भनाइ छ । तर सरकारले किसानहरुका लागि प्राविधिक ज्ञान दिनुपर्ने, सस्तो ब्याजमा ऋण उपलव्ध गराउनु पर्ने साथै सिचाईको ब्यवस्ता हुनुपर्ने उनी बताउँछन् । तिम्सिना कृषी फर्म दर्ता गरेर जाँते क्षेत्रमा तरकारी खेतीबाट राम्रो आम्दानी लिदै आएको तिम्सिना दम्पतिले मौषमी तथा बेमौषमी तरकारी खेती गर्दै आउनु भएको छ । उहाँहरुले मौषम अनुसार टमाटर, सिवी, काउली, करेला, बोडी लगायतका तरकारी बाली लगाउने गर्नुभएको छ् । यति बेला भने पहिलो पटक टनेलमा बेमौषमी टमाटर लगाउनु भएको छ । तिम्सिनाले जाँते क्षेत्रमा सिचाईको लागि समस्या रहेको भन्दै कृषिलाई प्रोत्साहन गर्दै स्थानीय सरकारले सिचाईको लागि पैनीको व्यवस्था र समय समयमा तालिमको व्यवस्था गरिदिनु पर्ने माग गर्नुभयो । यस क्षेत्रमा तेलिगडामे पैनीको मर्मत गरेर सिचाईको ब्यवस्ता मिलाए ८ र ९ नम्बर वडावासी किसानहरु लाभान्वित हुने उहाँको भनाइ छ । तिम्सिना तत्कालिन जाँते गाविसबाट उत्कृष्ट कृषकको रुपमा सम्मानित पनि भइसक्नु भएको छ । यहाँ उत्पादित तरकारीहरु लिन पूर्वका मुख्य सहरका ब्यापारीहरु खेतमै आउने गरेका छन् ।