Sunday, November 24, 2024
Home > मुख्य समाचार > स्वास्थ्य सुरक्षा तथा सर्तकता अपनाएर जनजीवन सहज बनाउँदै लैजानुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुको सुझाव

स्वास्थ्य सुरक्षा तथा सर्तकता अपनाएर जनजीवन सहज बनाउँदै लैजानुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुको सुझाव

विराटनगर १९ भाद्र
स्वास्थ्य सुरक्षा तथा सर्तकता अपनाएर अब जनजीवन सहज बनाउँदै लैजानुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।  प्रदेश–१ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको सुझाव संकलन कार्यक्रमका सहभागी सहभागी पत्रकार तथा संचारकर्मीहरुले प्रदेश सरकारलाई यस्तो सुझाव दिएका हुन् । मन्त्रालयले कोरोना कालको वर्तमान अवस्था र सरकारले सो विषयमा गरेको काम कारबाही तथा आगामी दिनमा अपनाउनुपर्ने नितिका बिषयमा पत्रकारहरुसँग छलफल तथा सुझाव संकलन गरेको छ । छलफलका क्रममा सञ्चारकर्मीहरुले कोरोना महामारीका कारण प्रदेशको सञ्चार क्षेत्र नराम्ररी प्रभावित भएको र त्यसको संरक्षणका लागि सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने सुझावसमेत दिएका छन् । सो क्रममा बोल्नुहुँदै अग्रज पत्रकार मोहन भण्डारीले कोरोनाका बिषयमा सर्वसाधारणमा अनावश्यक भ्रम र त्रास फैलिएको बताउनुभयो । उहाँले लामो समयको लकडाउन र निषेधाज्ञालगायतका कारण जनजीवन असहज भएको बताउनुहुँदै त्यसलाई सरलीकरण गर्दै लैजानुपर्ने विचार ब्यक्त गर्नुभयो । उहाँले नागरिकहरुलाई महामारीबारे सचेत गराउँदै अनुशासित बनाउने काममा समेत सरकारले मिहेनत गर्नुपर्ने सुझाव दिनुभयो । नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतमले अन्य क्षेत्र जस्तै प्रेस जगत कोरोनाका कारण भएको लकडाउन र निषेधाज्ञा तथा उद्योग व्यवसाय बन्द भएका कारण उत्पन्न संकटको चपेटामा परेको बताउनुभयो । उहाँले प्रदेशका ३० भन्दा बढी दैनिक पत्रिका, ७० भन्दा बढी साप्ताहिक पत्रिका र कतिपय रेडियोहरु बन्द रहेको भन्दै सरकारले त्यस्ता सञ्चारगृहको विषयमा ध्यान दिनुपर्ने र उनीहरुलाई सहयोग हुनेगरी काम गर्नुपर्ने बताउनुभयो । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्सालले कोरोनाको कारण संकटमा परेका सञ्चारकर्मीको लागि फेलोसिपको कार्यक्रम ल्याउन सुझाब दिनुभयो । कार्यक्रममा बोल्नुहुँदै मन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रममा आएका सुझावप्रति आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले कार्यक्रमबाट आएका सुझावहरुलाई मुख्यमन्त्री सामु प्रस्तुत गरेर कार्यान्यवन तहमा लाने प्रतिबद्धता जनाउनुभयो । छलफलमा महासंघ र पत्रकार सम्बद्ध विभिन्न संगठनका प्रतिनिधिहरुले लामो लकडाउनका कारण श्रमजीवि पत्रकारहरुको पेशा नै जोखिममा परेको विचार राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *