Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > लालध्वज लामा ‘सानू’ को हत्यामा संलग्न चार जनालाई बारा प्रहरीले जिल्ला अदालत बारामा पेश

लालध्वज लामा ‘सानू’ को हत्यामा संलग्न चार जनालाई बारा प्रहरीले जिल्ला अदालत बारामा पेश

बारा १९ भाद्र

दुई महिनाअघि बाराको अमलेखगञ्जमा हत्या गरिएका निजगढ नगरपालिका वडा नम्बर ८ का ३४ वर्षीय लालध्वज लामा ‘सानू’ को हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका एक महिलासहित चार जनालाई बारा प्रहरीले जिल्ला अदालत बारामा पेश गरेको छ । प्रहरीले लामाको हत्या अभियोगमा पक्राउ परेकालाई आज अदालतमा पेश गरेको हो । निजगढ वडा नं.८ का ३३ वर्षिय केशवराज शिवाकोटी, सोही ठाउँकी ३९ वर्षीया बन्दना लामा, निजगढ वडा नं. ९ का ४५ वर्षीय ‘संजय’ भनिने चक्रबहादुर तामाङ्ग र सर्लाही जिल्ला बाग्मती नगरपालिका वडा नं.३ का २४ वर्षीय जोखबहादुर स्याङ्गतानलाई अदालत पेश गरेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनभयो । प्रहरीले अनुसन्धान पुरा गरी मुद्दा दर्ता गरिएको र अदालतमा थुनछेक बहससमेत सुरु भएको प्रवक्ता मिश्रले बताउनुभयो । अमलेखगंजस्थित ससुराली घरबाट गत असार २१ गते बेपत्ता बनेका लालध्वजको असार २८ गते स्थानीय सामुदायिक वनमा शव फेला परेको थियो । लालध्वजको शव सडेर गलेको र हात, खुट्टा र गुप्ताङ्गसमेत शरिरबाट छुट्टिएको अवस्थामा शव फेला परेको थियो । लालध्वजका दाजु आसमान लामाले घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गर्नुभयो । लामा केही समयदेखि अमलेखगंजमा किराना पसल समेत चलाएर बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *