मोरङ १८ भाद्र
राउण्ड टेबल नेपालले मोरङको टंकिसिनवरीस्थित एक विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
कोभिड–१९ को महामारीको जोखिमबाट जोगिन राउण्ड टेबलले आज एक कार्यक्रमको आयोजना गरी मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित लोटस सार्वजनिक विद्यालयलाई फेस मास्क, सेनिटाइजर हस्तान्तरण गरेको हो । राउण्ड टेवलले कार्यक्रममा २ हजार थान फेस मास्क, एक सय एमएलको ४ सय बोतल सेनिटाइजर विद्यालय व्यवस्थापन समितिलाई प्रदान गरेको छ । हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीहरु विद्यालयमार्फत ४ सयभन्दा बढी घरपरिवारका विद्यार्थी, अभिभावकले पाउने राउण्ड टेबल नेपालले जनाएको छ । कार्यक्रममा विद्यालय सञ्चालक समितिका अनुप देव जस्तोसुकै समस्या पर्दा पनि राउण्ड टेवल नेपाललाई आफूहरुले सम्झिने गरेको बताउनुभयो । उहाँले राउण्ड टेवललाई समस्या राख्दा तत्कालै सहयोग प्राप्त हुने गरेको उल्लेख गर्नुभयो । विद्यालयलाई विगतदेखि नै राउण्ड टेवलले सहयोग गर्दै आएको भन्दै उहाँले आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताउनुभयो । त्यस्तै राउण्ड टेवल नेपालका एरिया टु को–अर्डिनेटर सन्नी अग्रवालले कोरोना महामारीले निम्त्याएको संकटको सामना सबै मिलेर गर्नुपर्नेमा जोड दिनुभयो । अग्रवालले सबैको सहकार्य र एकताले मात्रै कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताउनुभयो । उहाँले अहिलेको संकटको बेला आफूले सकेको सहयोग गर्न अन्य संघसंस्थालाई समेत आग्रह गर्नुभयो । कार्यक्रममा टेबलरहरु विकास गोयल, हरिवंश राठी, सौरभ गोल्छा, दिवस सुवेदी, पवन पारख, महेश शर्मा, अजय राठीलगायतको उपस्थिति रहेको थियो । राउण्ड टेवल नेपालले विगतमा पनि २ सयभन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामग्री प्रदान गरेको थियो । राउण्ड टेवलले मुलुकका अन्य क्षेत्रमा समेत सामाजिक कार्य गर्दै आएको छ ।