विराटनगर १८ भाद्र
ज्यानमार्ने धम्की दिई रकम असुल्ने गिरोहका ५ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अभियुक्तहरुबाट अटोमेटिक पेस्तोल र नगद समेत बरामद गरेको छ । आपराधिक गिरोह स्थापनागरि धाकधम्की दिदै ब्यापारीहरुबाट रकम असुल्दै आएका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका सहित कटहरीबाट पक्राउ गरिएका ब्यक्तीहरुमा एकजना भारतीय समेत छन । पक्राउ परेकाहरुमा भारत बिहार सितामणी घरभई विराटनगरको चाईना बजारस्थित कपडा पसलमा काम गर्दै आएका २७ बर्षिय राजु साह,कटहरी गाँउपालिका २ आदर्शनगरका २६ बर्षिय किसन साह,सोहि ठाँउका एलेक्स भनिने २८ बर्षिय रबिन शर्मा,२७ बर्षिय अभिषेक राय र सप्तरी बोदेबर्साइन नगरपालिका ८ बस्ने २७ बर्षिय नन्दु भन्ने नन्द किसोर साह छन । अभियुक्तहरुले असारयता ब्यापारीहरुलाई फोनबाट ज्यान मार्ने धम्कीदिई नगद ५ लाख असुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । उनिहरुले दुई जनालाई ब्यापारीलाई फोनगरि १०÷१० लाख रुपैया मागि धम्क्याएकोेमा एकजनाबाट ५ लाख असुलेको एसपी खड्काले बताउनुभयो । प्रहरीले अभियुक्तहरुको साथबाट अटोमेटिक पेस्तोल १ थान,त्यसमा लाग्ने गोली ३ थान,नगद ९७ हजार १ सय २० रुपैया र मोटरसाईकल ३ थानसहित विभिन्न कम्पनीका १६ थान मोबाईल समेत बरामद गरेको छ । ब्यापारीलाई धम्क्याएका अभियुक्तहरुले विराटनगरको मेनरोडमा रहेको गुद्री बजारमा १ लाख र नोबेल अस्पताल नजिकैको नहरचोकबाट दोश्रो पटक ४ लाख बुझेको एसपी खड्काले बताउनुभयो । अभियुक्तहरुले नै भदौ १५ गते विराटनगरस्थित चाईना बजारका संचालक राम नरेश साहको घर फोरी नगद ११ लाख समेत चोरी गरेको अनुसन्धानको क्रममा खुलेको एसपी खड्काले बताउनुभयो । आपराधिक सो समुहको मुख्य नाईकेकोरुपमा कटहरी २ का अभिषेक राय रहेको प्रहरीले जनाएको छ । संचारकर्मीले राखेको प्रश्नको जवाफ दिंदै नाईके रायले बरामद भएको पेस्तोल आफुले विराटनगरकै कोशी प्रोजेक्ट नजिकैको नहरचोकबाट एकजना अपरिचितबाट १ लाखमा खरीद गरेको बताएका थिए । रायले पेस्तोलसंगै खरीद गरेको ६ राउण्ड गोली मध्ये ३ थान गोली प्रयोग भईसकेको खुलेको छ । सो बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ अभियुक्तहरु बिरुद्ध हातहतियार खरखजाना,आपराधिक लाभ,चोरी तथा संगठित अपराधमा अनुसन्धान कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।