Monday, November 25, 2024
Home > मुख्य समाचार > अति विपन्न समुदायलाई लक्षित गरी बिराटनगरमा फुट बैंक सञ्चालनमा

अति विपन्न समुदायलाई लक्षित गरी बिराटनगरमा फुट बैंक सञ्चालनमा

विराटनगर १७ भाद्र
लकडाउन र निषेधाज्ञाका कारण प्रभावित अति विपन्न समुदायलाई लक्षित गरी यतिबेला देशका विभिन्न स्थानमा फुट बैंक सञ्चालनमा ल्याइएको छ । जसका कारण आर्थिक अभावमा भोकभोकै बस्न बाध्य भएका विपन्न समुदायका व्यक्तिहरु लाभान्वित भएका छन् । विराटनगरस्थित क्रियटिभ युथ सोसाईटीले फुट बैंक स्थापना गरेर अति विपन्न परिवारलाई भान्साको पोको उपहार दिन थालेको छ । सोसाइटीले भान्साको पोको उपहार उपलब्ध गराएपछि दैनिक ज्याला मजदुरी गरेर खाने वर्गमा खुसी छाएको छ । विराटनगर–५ जामुनगाछीका ६० जना युवाहरु संलग्न सोसाईटीले फुट बैंक स्थापना गरेर अति विपन्न परिवारलाई भान्साको पोको उपहार दिन थालेको हो । जामुनगाछी चौकमा राखिएको फुड बैंकबाट अति विपन्न परिवारलाई हरेक दुई दिनमा भान्साको पोको उपहार स्वरुप उपलब्ध गराउँदै आएको छ । पाँच महिनादेखि राम्ररी काम गर्न नपाएपछि, अति विपन्न वर्गहरुलाई घरखर्च धान्नसमेत समस्या परेको बेला सोसाईटीले अढाई किलो चामल, आधा लिटर तेल, एकपाउ दाल, सोयाबीन र नुन उपलब्ध गराएपछि निकै खुसी लागेको देवी खड्काले बताउनुभयो । भान्साको पोको लिएपछि आफ्ना घरमा खाना पकाएर परिवारसँग बसेर खान पाउने भएपछि निकै खुशी लागेको उहाँले बताउनुभयो । अति बिपन्नका लागि भनेर सोसाइटीले फुड बैंक स्थापना गरेको हो । तर, अन्य स्थानमा भन्दा यहाँ खोलिएको फुड बैंकको विशेषता फरक छ । लकडाउनको कारणले दैनिक ज्याला मजदुरी गर्न नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको बेला फुड बैंकले भान्साको पोको उपहार उपलब्ध गराएपछि निकै खुशी लागेको लकडाउनबाट प्रभावित कविता चौधरीको भनाइ छ । सहयोग उपलब्ध गराईदिएको भन्दै उहाँले संस्थाका सदस्यहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । युवाहरुको समूहले विराटनगर–४ र ५ का अति विपन्न परिवारको पहिचान गरी भान्साको पोको उपहार उपलब्ध गराएको फुड बैंक, युवा समूहका संयोजक सुरज कटवालले बताउनुभयो । चुल्लो बाल्ने योजनाअनुसार योगदान गर्नसक्नेहरुको सहकार्यमा निषेधाज्ञा जारि रहँदासम्म पहिचान गरिएका घर परिवारलाई भान्साको पोको उपलब्ध गराउने उहाँले बताउनुभयो । सामाग्री जुटाउनका लागि सबैसँग सहयोगका लागि आग्रह गर्ने उहाँले बताउनुभयो । फुड बैंकका लागि निर्माण व्यवसायीहरु, विद्यार्थी नेता, सामाजिक क्षेत्रमा क्रियाशिल अगुवाहरु र स्वयम् युवाहरुको सहयोग रहेको छ । यसरी नै हुनेले नहुनेलाई सहयोग गरेमा पक्कै पनि यो संकटको बेला कसैले पनि भोककै कारण मर्नुपर्ने थिएन । मकालु समाचारका लागि पदमकुमार सरदारको रिपोर्ट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *