Sunday, November 24, 2024
Home > मुख्य समाचार > म्याक्स इन्टरनेश्नल हस्पिटल द्धारा नवजात शिशुको सानो आन्द्रा बटारिएर कुहिएको रोगको सफल शल्यक्रिया

म्याक्स इन्टरनेश्नल हस्पिटल द्धारा नवजात शिशुको सानो आन्द्रा बटारिएर कुहिएको रोगको सफल शल्यक्रिया

विराटनगर १७ भाद्र
विराटनगरस्थित म्याक्स इन्टरनेश्नल हस्पिटल एण्ड ट्रमा सेन्टरले एक नवजात शिशुमा देखिएको दुर्लभ रोगको सफल शल्यक्रिया गरेको छ । विराटनगर–११ स्थित सो अस्पतालले धनकुटा चौबिसे गाँउपालिकाका नवजात शिशुको सानो आन्द्रा बटारिएर कुहिएको रोगको शल्यक्रिया गरि सफल उपचार गरेको हो । समय नपुग्दै कम तौलसहित जन्मिएका ती शिशुलाई अभिभावकले साउन ३२ गते सो अस्पतालमा भर्ना गरेका थिए । साउन २९ गते घरमै नर्मल अवस्थामा जन्मिएका शिशुको जन्मदा शारिरीक तौल १ किलो ६ सय ग्राम मात्र थियो । जन्मिदै आन्द्रामा समस्या भएका कारण शिशुको नाभीको प्वालबाट फोहोर निस्किने समस्यासमेत रहेको शिशुका बाबु चौबिसे गाउँपालिकाका–७ का सन्तु सेम्जोङले जानकारी दिनुभयो । शल्यक्रियापछि अहिले शिशुको अवस्था सुधारोन्मुख रहेको उहाँले बताउनुभयो । चिकित्सकीय भाषामा मिकस डाइर्भटिकुलम भनिने सो समस्या हजारौं शिशुमध्ये कुनै एक–दुईमा मात्र देखिने गरेको अस्पताल स्रोतले बताएको छ । आन्द्रा बटारिएर कुहिने त्यस प्रकारको समस्यामा शिशुको दिसापिसाब बन्द हुने, पेट फुल्ने र इन्फेक्सनलगायतका जटिल समस्या हुने गरेको शिशुको शल्यक्रिया गर्नुभएका पेडियाट्रिक सर्जन डाक्टर रमाशंकर यादवले जानकारी दिनुभयो । समय नपुगि कम तौल तथा आन्द्राको समस्यासहित जन्मिएका शिशुको शल्यक्रिया थप जटिल बनेको डाक्टर यादवले बताउनुभयो ।  शिशुको तौल तीन किलो बढी पुगेपछि फेरि एकपटकको शल्यक्रियापछि शिशु पूर्णरुपले स्वस्थ्य हुने डाक्टर यादवले दाबी गर्नुभयो । उक्त रोगको शल्यक्रिया धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अतिरिक्त काठमाण्डौका ठुला अस्पतालहरुमा मात्र हुँदै आएको अस्पतालले जनाएको छ । बितेको वर्ष १ सय ५० र चालु आर्थिक बर्षको हालसम्म म्याक्स अस्पतालमा ८ वटा जटिल शल्यक्रिया गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *