विराटनगर १५ भाद्र
कोरोनामुक्त भएकाहरुले सामाजिक विभेदको शिकार बन्नु परेको गुनासो गरेका छन् । कोरोनालाई परास्त गरेका व्यक्तिहरुलाई हौसला दिनुको साटो उल्टै अपराधी नै जस्तो व्यवहार गर्ने गरेको उनीहरुको भनाइ छ । कोरोना संक्रमणमुक्त भएपनि समाजले हेर्ने दृष्टिकोण राम्रो नभएको उनीहरूको गुनासो छ । विराटनगर–९ का पत्रकार दिनेश साहले कोरोेनामुक्त भएर घर फर्किएपछि समाजका शिक्षित मानिसहरुले नै असामाजिक व्यवहार गर्ने गरेको गुनासो गर्नुभयो । साहलाई साउन २५ गते गरेको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उहाँ आइसोलेसनमा बस्नुभएको थियो । भदौ ७ गते पुनः गरेको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । साहमात्र हैन विराटनगर–३ पोखरीयाका सुजन दाहाललाई पनि साउन १४ गते गरेको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखियो । उनी मोरङको गोठगाउँस्थित आइसोलेसनमा बसेर कोरोनामुक्त भएर घर फर्किसकेका छन् । कोरोनामुक्त भएर घर फर्केपछि पनि समाजले आफूमाथि सामाजिक रुपमा राम्रो व्यवहार नगरेको दाहालको गुनासो छ । संक्रमितको घरको बाटै हिंड्न नहुने जस्तो व्यवहार समाजले गरेको दाहालले बताउनुभयो । दाहालको साउन २२ गते गरेको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएर कोरोनामुक्त भइसके पनि समाज संक्रमणमुक्त भएका व्यक्तिहरूसँगसमेत त्रसित हुने गरेको छ । संक्रमणमुक्त भएकाहरूले संक्रमितलाई आत्मबल प्रदान गर्न र संक्रमणमुक्त भइसकेकाहरूप्रति सकारात्मक व्यवहार गर्न अनुरोध गरेका छन् । नेपाल सरकार तथा विज्ञहरूले समेत संक्रमित र संक्रमणमुक्त भइसकेका व्यक्तिहरूलाई असामाजिक व्यवहार नगर्न बारम्बार आग्रह गरे पनि निको भइसकेका संक्रमितप्रति समाजले हेर्ने दृष्टिकोण अझै बदलिन सकेको छैन ।