विराटनगर १७ भाद्र
हिन्दूहरुको महान् पर्व बडादसैं अगाडि पर्ने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ ।
आजदेखि १६ दिन हिन्दू परम्परा तथा धर्म संस्कृति अनुसार आफ्ना दिवंगत बाबुआमाको सम्झनामा श्राद्ध गर्ने प्रचलन रहँदै आएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रश्राद्ध तिथिमा दिवंगत पितृहरुलाई सम्मानका साथ तर्पण, सिदा दान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व यज्ञादी तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यतासमेत रहि आएको छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ । यो अवधिभर हिन्दु धर्ममा जुठो विटुलो मानिँदै आएका लसुन, प्याज, माछा मासु जस्ता परिकारहरु खान नहुने धार्मिक विश्वास रहेको छ । यसैबीच यसपटक कोरोना संक्रमण महामारीका कारण सोह्रश्राद्ध पनि प्रभावित भएको छ । कतिपय स्थानीय तहले त भर्चुअल अर्थात अनलाईन विधिबाट सोह्रश्राद्ध गर्न आग्रह गरेका छन् ।