इटहरी १६ भाद्र
कोरोना महामारीका कारण आर्थिक अभाव झेलिरहेका श्रमजीवी पत्रकारका लागि नेपाल प्रेस युनियन सुनसरीले ‘फुड बैङ्क’ अभियान सुरु गरेको छ । यस फुट बैकमा एक पत्रकारले अर्को पत्रकारलाई सहयोग गर्दै आएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखाले कोरोना महामारीको बेला विभिन्न सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलब–भत्ता कटौती गर्ने, नियमित पारिश्रमिक नदिनेसँगै कतिपय सञ्चार गृह बन्द भएका र केही आंशिक रूपमा सञ्चालन भएकाले समस्यामा परेकालाई मध्यनजर राखेर ‘फुड बैङ्क’ अभियान सञ्चालन गरेको हो । महामारीले गर्दा पत्रकारले सबैभन्दा बढी समस्या झेल्नु परेकाले पेसा जोगाउनै गाह्रो परेको अवस्था छ । ‘पत्रकारकै मात्र कमाइबाट घर चलाइरहेका परिवारलाई समस्या भएपछि थोरै भए पनि राहत होस् भनेर फुड बैंक सुरु गरिएको प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले बताउनुभयो । कोरोना महामारीले आर्थिक अवस्था कमजोर हुँदै गएका, काम छाड्न बाध्य भएका तथा समयमा तलब नपाएका सुनसरीका पत्रकारलाई फुड बैंक मार्फत सहयोग गरिने उहाँको भनाइ छ । रोगले भन्दा भोकले मर्ने अवस्था आएकाले एक पत्रकारले अर्काे पत्रकारलाइ सहयोग गर्ने अभियानले अब कोही पत्रकार भोको बस्नु नपर्ने फुट बैंकका संयोजक कृष्ण अधिकारीले बताउनुभयो । नेपालमा पहिलोपटक पत्रकारका लागि स्थापना गरिएको फुड बैंकले गाह्रो परेका पत्रकारहरुका लागी सहयोग गर्दै आएको छ । युनियनका अध्यक्ष अधिकारीसहितको टोलिले घर–घरमै लगेर अफ्ट्यारोमा परेकालाई सहयोग गरेको छ । यस फुटबैंकबाट हालसम्म ४ दर्जनभन्दा बढी पत्रकारले सेवा लिइसकेका छन् ।