एजेन्सी १६ भाद्र
कतार सरकारले श्रमसम्बन्धी नयाँ आदेश जारी गरेको छ ।
उक्त आदेशमा विदेशी श्रमिकका लागि जागिर परिवर्तन गर्न खुकुलो व्यवस्था गरिएको छ । यसअघि कतारमा विदेशी कामदारले सम्झौता अवधिभित्र रोजगारदाताको अनुमतिबिना जागिर परिवर्तन गर्न नपाउने व्यवस्था थियो । यो व्यवस्थालाई परिवर्तन गर्दै कतार सरकारले अब श्रमिकले आफ्नो इच्छाअनुसार काम गर्ने ठाउँ र अफिस परिवर्तन गर्न पाउने व्यवस्था गरेको हो । यसका लागि श्रमिकले कम्तिमा १ महिनाअघि लिखित जानकारी भने गराउनुपर्ने छ । कतारमा एकपटक रोजगारदाताले विदेशबाट श्रमिक लिएपछि कतै पनि जान नदिने, चरम श्रम शोषण गर्ने गरेको भन्दै अन्तर्राष्ट्रिय संघ संस्थाले विरोध जनाएका थिए । कतारको पछिल्लो यो निर्णयलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले स्वागत गरेको छ । यो ऐतिहासिक दिन हो । सबै श्रमिकले अबदेखि कतारमा रोजगारदाताको अनुमतिबिना नै जागिर परिवर्तन गर्न पाउने छन संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ । त्यस्तै कतार सरकारले श्रमिकका लागि न्यूनतम ज्याला पनि निर्धारण गरेको छ । यो नियमसँगै सबै श्रमिकले १ हजार कतारी रियाल (२७४ अमेरिकी डलर) पाउनेछन् । योसँगै बस्नका लागि मासिक ५ सय रियाल(१३७ अमेरिकी डलर) र खानाका लागि ३ सय रियाल(८२.८२ अेमिरिकी डलर) पाउनेछन् ।