धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित गर्भवती महिलाले शिशु जन्माएकी छन् ।
विराटनरगर–२ घर भएकी २० वर्षीय कोरोना संक्रमित गर्भवती महिलाले छोरीलाई जन्म दिएकी हुन् । भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित महिला भदौ ७ गते बीपीको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उपचारमा संलग्न डा. सूर्यप्रसाद रिमालको निगरानीमा डा. मुकेश र नर्सले नर्मल डेलेभेरी गराएको प्रतिष्ठानले जनाएको छ । जन्मदा शिशुको तौल २ दशमलव ८ किलोग्राम रहेको अस्पतालले जनाएको छ । आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ । शिशु जन्मिएको ७२ घण्टा पुगेपछि उनको पनि कोरोना भाइरस संक्रमणको परीक्षण गरिने प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो ।