Thursday, November 21, 2024
Home > मुख्य समाचार > निशेधाज्ञाको पहिलो दिन विराटनगर सुनसान

निशेधाज्ञाको पहिलो दिन विराटनगर सुनसान

विराटनगर । समुदायस्तरमा थप कोरोना फैलिन नदिन जारी गरिएको निषेधाज्ञाका कारण प्रदेश–१ को राजधानी विराटनगर सुनसान भएको छ । ५ दिनका लागि जारी गरिएको निषेधाज्ञाको पहिलो दिन आज बिहानैदेखि विराटनगरसहित मोरङका अन्य स्थानीय तह ठप्प भएका हुन् ।

लकडाउन लगाउँदा पनि मानिसको चहलपहलमा कमी नआएपछि स्थानीय प्रशासनले विराटनगरमा ५ दिने निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण विराटनगर ठप्प भएको छ । निषेधाज्ञाको पहिलो दिन शनिबार बिहानैदेखि विराटनगरका सडक सुनसान बनेका छन् । अत्यावश्यकबाहेकका सवारी सञ्चालन भएका छैनन् । पछिल्लो समय प्रदेश राजधानी विराटनगरमा कोरोना फैलिने क्रम तीव्र बनेको छ । त्यसैलाई ध्यानमा राखेर विराटनगर महानगरपालिकाले दुई पटकमा गरेर ३ हप्ता लकडाउन लगाएको थियो । तर, लकडाउनको लकडाउन लगाउँदा पनि संक्रमित नघटेपछि महानगरको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले भदौ १० गतेसम्मका लागि विराटनगरमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा कार्यान्वयन गराउन चोक–चोक सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको छ । अत्यावश्यक काममा निस्केकालाई पनि प्रहरीले चेकजाँच गरेर मात्रै छाड्ने गरेको छ । विराटनगरमा तीन सातादेखि लकडाउनको अवस्था कायम रहेको भए पनि मानिसको आवागमनमा थप कमी ल्याउन निषेधाज्ञा जारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताउनुभयो ।

हिंडडुललाई पूर्णरुपमा निषेध गरिएको उहाँले बताउनुभयो । विराटनगर महानगरपालिकासहित बूढीगंगा गाउँपालिकाकाको वडा नम्बर १, २, ३, र ४, कटहरी गाउँपालिकाकाको वडा नम्बर १ देखि ५ सम्म र रंगेली नगरपालिकाकाको ४ देखि ७ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको छ । सो क्षेत्रसमेत पूर्ण रुपमा ठप्प भएको छ । कोरोना फैलिन नदिने उद्देश्यले प्रशासनले निषेधाज्ञा लगाउनु सकारात्मक भएको स्थानीयको भनाइ छ । निषेधाज्ञाको सबैले कार्यान्वयन गर्नुपर्नेमा उनीहरुको जोड छ । ढिलै भए पनि प्रशासनले निषेधाज्ञा जारी गर्ने निर्णय गरेर राम्रो काम गरेको स्थानीय पवन उपाध्यायको भनाइ छ ।

कोरोना संक्रमण फैलिन नदिन ५ दिनको निषेधाज्ञाले मात्रै नहुने कतिपय स्थानीयको तर्क छ । कम्तीमा भदौ १५ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने अर्का स्थानीय राजेश अग्रवालले बताउनुभयो ।

निषेधाज्ञापछि महानगरका विभिन्न सडकहरुसमेत सुनसान देखिएका छन् । अत्यावश्यक सेवाका पसलबाहेक अन्य सबै पसलहरु बन्द छन् । सडकमा फाट्टफुट्टमात्रै अत्यावश्यक सेवाका सवारीहरु गुडेको पाइएको छ । समुदायस्तरमा कोरोना फैलिसकेको अवस्था छ । यसर्थ कोरोनालाई थप फैलिनबाट रोक्न प्रशासनले जारी गरेको निषेधाज्ञा सबैले पूर्ण पालना गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *