Friday, November 22, 2024
Home > मुख्य समाचार > निजी स्वास्थ्य संस्था विरुद्ध अदालत जाने प्रदेश–२ सरकारको तयारी

निजी स्वास्थ्य संस्था विरुद्ध अदालत जाने प्रदेश–२ सरकारको तयारी

जनकपुर ३ भाद्र
प्रदेश–२ सरकार कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एवं मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न प्रदेश संकट व्यवस्थापन केन्द्र (पिसिएमसी)को बैठकले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने प्रदेशस्थित मेडिकल कलेजसहित निजी स्वास्थ्य संस्था विरुद्ध अदालत जाने तयारी थालेको हो । बैठकले सामाजिक विकासमन्त्रीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरुसमेत रहने गरी समन्वय समिति गठन गर्दै उक्त समितिले मेडिकल कलेजसहितका निजी स्वास्थ्य संस्थाहरुसँग कोरोना व्यवस्थापनको विषयमा पहिलो चरणमा छलफल गर्ने, मेडिकल कलेज तथा निजी अस्पतालहरुलाई संघीय सरकाले तोकेको दररेट उपलब्ध गराई कोभिड उपचारका लागि प्रयोग गर्ने निर्णय गरेको छ । त्यसपछि पनि मेडिकल कलेज तथा निजी अस्पतालहरुले कोभिड उपचारमा सहयोग नगरे कारबाही तथा दर्ता खारेजका लागि संघीय सरकारमा लेखी पठाउने तथा कानुनबमोजिम कारबाहीका लागि मुद्दा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बैठकले प्रदेशमा समुदायस्तरमै फैलिदै गएको कोरोना महामारी नियन्त्रणमा रहेका अप्ठ्यारा एवं सरकारले गर्नुपर्ने कार्यहरु बारे जिल्लास्तरबाटै जानकारी लिन प्रदेशको ४ स्थानमा २÷२ जिल्ला समेटिने गरि बैठक गर्ने निर्णयसमेत गरेको छ । साथै प्रदेश सरकार र पिसिएमसीले विगतमा गरेका निर्णयहरु अविलम्ब कार्यान्वयन गर्न सरोकारबलालाई निर्देशनसमेत दिएको छ । बैठकले कोरोना महामारी नियन्त्रणमा देखिएको जनशक्ति अभावलाई अविलम्ब करार सेवामार्फत परिपूर्ति गर्नसमेत समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । यसका साथै बैठकले कोरोना महामारी नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने चिकित्सक, स्वाथ्यकर्मी एवं सुरक्षाकर्मीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने निर्णयसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *