विराटनगर ३ भाद्र
चौधरी ग्रुपले प्रदेश १ सरकारलाई पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ ।
प्रदेश सरकारमार्फत चौधरीले ग्रुपले विराटनगरस्थित कोभिड–१९ कोशी अस्पतालका लागि एक थान पोर्टेवल भेन्टिलेट हस्तान्तरण गरेको हो । चौधरी गु्रपले प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो । सामाजिक विकास मन्त्रालयमार्फत कोभिड–१९ कोशी अस्पताललाई एक थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरिएको चौधरी गु्रुपका वरिष्ठ प्रबन्धक रामजी कटुवालले बताउनुभयो । चौधरी गु्रपको सिजि फाउण्डेशनमार्फत सामाजिक क्रियाकलाप ‘परियोजना’अन्तर्गत भेन्टिलेट उपलब्ध गराइएको वरिष्ठ प्रबन्धक कटुवालले बताउनुभयो । भेन्टिलेटर ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना नियन्त्रण सरकारको एक्लो प्रयासबाट मात्रै सम्भव नभएकाले सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । मन्त्री घिमिरेले संक्रमण बढेका स्थानहरुमा कोरोना नियन्त्रणका कामहरु भईरहेको बताउनुभयो । संक्रमण बढेसँगै प्रदेश सरकारले परीक्षणका लागि प्राथमिकता निर्धारण गरेको उहाँले बताउनुभयो । स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा चौधरी गु्रपको सिजि फाउण्डेशनलाई मन्त्री घिमिरेले धन्यवाद दिनुभयो । उहाँले अब आइसीयू, आइसोलेशन र भेन्टिलेटरको उपलब्धताले कोभिड–१९ कोशी अस्पतालको सेवा थप प्रभावकारी हुने दाबी गर्नुभयो । चौधरी गु्रपको सिजि फाउण्डेशनले देशभरीमा ८ वटा सामुदायिक अस्पतालमा भेन्टिलेटर वितरण गर्ने योजना रहेको कटुवालले जानकारी दिनुभयो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पनि एउटा पोर्टेवल भेन्टिलेटर उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । मंगलबार विहान सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो ।