काठमाण्डौ १ भाद्र
कोरोना संक्रमणको जोखिमका कारण ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथाजात्रा हुन नसकेपछि स्थानीयहरु रथारोहण गराइएको ठाउँ मै पुगेर पूजाआजा गरेका छन् । साउन १० गते नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको सुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको थियो । रथमा बिराजमान गराएको चार दिनपछि रथजात्रा गर्नुपर्ने भए पनि कोरोना संक्रमणको जोखिमका कारण रथजात्रा रोकिएको थियो । काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने प्रचलन रहेको छ । तर यस वर्ष कोभिड—१९ का कारण ढिला गरी राथारोहण गराइएपनि रथजात्रा निकालन सकिएको छैन । लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइत नाग पञ्चमीको दिन परेको थियो । सोही दिन नै मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको थियो । तर पनि रथजात्रा निकाल्न नसकिएपछि स्थानीयहरु पुल्चोकस्थित रथारोहण गराइएको ठाउँमै पुगेर दैनिक पूजाआजा गर्दै आएका छन् । यसरी पूजाआजा गर्न जाने भक्तालुहरु बढ्दै गएपछि हिजो आज भीडभाड देखिएको छ । कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिएर २० जना भन्दा बढीलाई सहभागि हुन नदिई राथजात्रा गराउने भनिएको थियो । तर मानिसहरुको उल्लेख्य सहभागिता हुने सम्भावना भएपछि रथजात्रा रोकिएको थियो ।