भारतले विराटनगरको सिमाबर्ती जोगबनी बजार नजिकै रहेको बथनाहास्थित मीरगञ्ज पुल मर्मतका लागि भन्दै बन्द गरेको छ ।
भारतबाट आउने मालबहाक ढुवानी साधनको आवतजावत बिहानैबाट बन्द गरेको हो । आवागमन बन्द गरिएपछि विराटनगर भन्सार नाकाबाट हुने आयात–निर्यात पूर्ण रुपमा ठप्प भएको छ । मीरगञ्ज पुलबाट भारत तथा तेस्रो मुलुकबाट नेपालतर्फ औद्योगिक कच्चा पदार्थ लगायत विभिन्न वस्तुहरु आयात हुनेगरेको छ । भारतले यस अघि नै पुल ११ दिनका लागि बन्द गरिने घोषणा गरेको थियो । मर्मत सकेर माघ ६ गतेबाट पुल सञ्चालन गर्न अनुमति दिइने भारतीय पक्षले बताएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । भारतले यस अघि पनि मर्मतसम्भार गर्नुपर्ने भन्दै पुस ३ देखि ११ गतेसम्म पुल बन्द गराएको थियो । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले भारतले पुलबाट हुने आयात निर्यात बन्द गरेपछि विकल्पका रुपमा वीरपुर–भण्टाबारी नाका प्रयोग गरिने बताउनुभयो । पौडेलका अनुसार पुल बन्दको समयमा भण्डाबारी नाका हुँदै तेस्रो मुलुकबाट आएका मालबहाक सवारी साधन नेपाल प्रवेश गर्नेछन् । तेस्रो मुलुकबाट आयात भएका सामानलाई वीरपुर–भाण्टाबारी रुट प्रयोग गर्न दिने तर भारतबाटै आएका मालबहाक सवारी साधनलाई भने जान नदिने अडानमा भारतीय पक्ष रहेको छ । भारतबाट औद्योगिक कच्चा पदार्थ र ट्रेडिङका सामाग्री नेपालतर्फ आयात हुन्छ । ११ दिनसम्म पुल बन्द हुँदा वैकल्पिक रुट प्रयोग गर्न नदिने हो भने निजी क्षेत्रलाई ठूलो असर पर्ने उद्योगीहरुको भनाई छ । पुल बन्द हुदा डिटेन्सन पावत हरेक दिन १ करोडको घाटा ब्यहोर्नुपर्ने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिनुभयो । २०७४ साल साउनको बाढीले पुल क्षतिग्रस्त बनाएको थियो । त्यस यता पटक पटक सो पुल बन्द गरिदै आएको छ । जसका कारण यसक्षेत्रका उद्योगी,ब्यवसायीले सास्ती खेप्नुपरेको छ ।