संक्रमित विरुवा वा विरुवाजन्य उपज निकासी तथा पैठारी गर्नेलाई ५० हजार देखि १ लाख ५० हजारसम्म जरिवाना हुने भएको छ ।
बिरुवा संरक्ष्ण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक पास भए संक्रमित बिरुवा वा बिरुवाजन्य उपज निकासी तथा पैठारी गरेमा, जानी जानी वा लापरवाहीपूर्वक संक्रमित बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुको संसर्ग स्वस्थ्य बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुसँग गराएमा एक लाख ५० हजार सम्म जरिवाना हुने व्यवस्था गर्न लागिएको हो । हाल यो विधेयक कृषि समितिमा दफावार छलफलको क्रममा रहेको छ । त्यसैगरी संक्रमित बिरुवा वा बिरुवाजन्य उपज बिक्री वितरण गरेमा, सङ्क्रमित बिरुवा, विरुवाजन्य उपज वा अन्य वस्तु तोकिएको प्रक्रिया नपुर्याई नष्ट गरेमा, सङ्क्रमित बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तु निरीक्षक वा कार्यालय प्रमुखको स्वीकृति बिना क्वारेन्टाइन स्थलबाट हटाएमा पनि उक्त जरिवाना हुने व्यवस्था गर्न लागिएको छ । यसअघि उक्त कसुर अन्तर्गत १० हजार देखि ५० हजारसम्म जरिवाना तोकिएको थियो ।