Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि स्थगित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि स्थगित

विभाग गठन, नेविसंघ लगायतमा भागवण्डा नमिल्दा आन्तरिक किचलोमै फसिरहेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि स्थगित भएको छ ।

विवादित विषयमा संस्थापन र इतरपक्षबीच सहमति हुन नसकेपछि बैठक चौथो पटक स्थगित भएको हो । गत मंसिर २६ गतेबाट सुरु बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्तुत गर्नुभएको ९ वटा एजेण्डाका अधिकांश बुँदामा असहमति जनाउँदै संस्थापन इतरपक्षले बैठक बहिस्कार गर्दै आएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा अपरान्ह १ वजेका लागि बोलाईएको बैठक आन्तरिक गृहकार्य नपुगेको भन्दै भोली सम्मकालागि स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सभापति देउवाले आफुखुशी विभाग गठन, भातृ संस्थाको नेतृत्व लिन खोजेको भन्दै इतरपक्षले महाधिवेशन कार्ययोजना माग गर्दै आएको छ । केही विषयमा सहमति नजिक पुगे पनि विभाग गठन, नेविसंघको भागवण्डा लगायतका विषयमा कुरा मिल्न नसकेको संस्थापन इतर पक्षका नेता हृदयराम थानीले बताउनुभयो । पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका नल्याएको, सहमतिबिना विभागका संख्या २८ बाट बढाएर ४१ पुर्याउने प्रस्ताव बैठकमा पेस गरेको, भ्रातृसंस्था नेपाल विद्यार्थी संघ र तरुण दलमा देखिएको विवाद समाधानको ठोस प्रस्ताव नल्याएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति राख्दै आएको छ । संस्थापन पक्षले भने पार्टीमा जारी आन्तरिक विवाद समाधानका लागि महामन्त्रीको संस्था बढाउने प्रस्ताव गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *