साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आज भएको खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई १–० गोलअन्तरले पराजित गर्दै १० खेलाडीमा सिमित मनाङ तेस्रो जितसहित शीर्ष स्थानमा उक्लिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङलाई जित दिलाउन जगजित श्रेष्ठले निर्णायक गोल गरे । जगजितले खेलको २५ औं मिनेटमा निर्णायक गोल गरेका थिए । भीदाल लुइसको क्रसलाई उनले सदुपयोग गरेका थिए । त्यसअघि खेलको २३ औं मिनेटमा मनाङका विमल राना गोल गर्न चुके । उनको चिप बल पोस्टमाथिबाट बाहिरिएको थियो । तुलानात्मक कमजोर टिम ब्रिगेडविरुद्ध मनाङले दोस्रो हाफमा पनि गोलको अवसर खेर फालेका थिए । यस्तै खेलको ७३ औं मिनेटमा एक राज बुढाथोकीले रातो कार्ड पाउँदा मनाङ १० खेलाडीमा समेटिएको थियो । ब्रिगेडका विजय गुरुङलाई मैदानको मध्ये भागमा खराब ट्याकल गरेपछी बुढाथोकीले रेड कार्ड पाएका थिए । खेलमा मनाङका कप्तान कमल श्रेष्ठ म्यान अफ दि म्याच चुनिए । जितसँगै मनाङले ३ खेलमा ९ अंक जोडेको छ ।