दक्षिणी झापाको कचनकवल गाउँपालिकास्थित साबिक पाठामारी–बनियानी–बालुवाडी गरी तीन वटा साविकका गाविसलाई जोड्ने उद्देश्यले सरकारले कालोपत्रे सडक बनाउने योजना अघि सारेको थियो । योजना मात्रै हैन सरकारले टेन्डर आह्वान गरी ठेक्कासमेत लगाइसकेको छ । तर, निर्माण कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण अहिलेसम्म सो सडकखण्ड बन्न सकेको छैन ।
ठेक्का सम्झौता मिति सकिएको तीन महिना बढी बित्न लाग्दासमेत अहिलेसम्म कालोपत्रे सडक निर्माणले गति लिन नसकेको स्थानीयको गुनासो छ । भारतको सीमावर्ती नाका जोड्ने पाठामारीदेखि बनियानी हुँदै बालुवाडीसम्मको कालोपत्रे सडक निर्माणका लागि सरकारले डिपीआर तयार गरी पिएस् र भ्याटसहित १६ करोड ३६ लाख ६३ हजार ८ सय ४९ रुपैयाँ तोकेर टेन्डर आह्वान गरेको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गतको पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय, डिभिजन सडक कार्यालय दमकले २०७३ साल माघ २४ गते गजुरमुखी निर्माण कम्पनी इलामसँग सडक बनाउने ठेक्का सम्झौता गरेको थियो । ७ दशमलव १७ किलोमिटर सडकको चौडाइ ५ दशमलव ५ मिटर रहेको छ । सडकमा ११ वटा ह्युमपाइप कल्भर्ट, ४ वटा स्ल्याभ कल्भर्ट, एउटा बक्स कल्भर्ट र ५ सय मिटर नालासहितको कालोपत्रे सडकको ठेक्का गजुरमुखीले १० करोड ८१ लाख ५७ हजार ३१६ रुपैयाँमा लिएको डिभिजन सडक कार्यालय दमकले जनाएको छ । ३० महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता गरेका निर्माण कम्पनी गजुरमुखीको म्याद २०७६ साल साउन २३ गते सकिसकेको छ । तर पनि सडक बनाउने विषयमा कुनै पहल नभएको स्थानीयको भनाइ छ ।
२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र ३ बाट निर्वाचत नेपाली काँग्रेस वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले पाठामारीमा आयोजित एक कार्यक्रमका बिच सडकको शिलान्यास गर्नुभएको थियो । शिलान्यास कार्यक्रममा गजुरमुखी निर्माण कम्पनी ठेकेदार प्रकाश कडेरीयाले जनतामाझ भाषा गर्दै ३० महिनाभित्र कालोपत्रे सडक सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । ठेकेदार कडेरीयाले गरेको प्रतिबद्धताअनुसार अहिलेसम्म सडक जस्ताको त्यस्तै छ । ३० महिनाको अवधिमा ठेकेदार कडेरीयाको काम देखेर स्थानीय निराश देखिएका छन् ।
निर्माण कम्पनीले बनियानी बजार सडक आसपासको क्षेत्रमा ३३ महिनामा दुईतर्फ अधुरो पक्की नाला बनाएर छाडिदिएको छ । निर्माण कम्पनी बनियानी बजार क्षेत्रमा ५ सय मिटर स्ल्याभसहितको पक्की नाला बनाउनुपर्ने हो । तर, अहिलेसम्म ५० मिटर नाला बनाउन बाँकी छ । स्थानीयका अनुसार निर्माण कम्पनीले अहिलेसम्म ३३ महिनाको अवधिमा नाला, ८ वटा ह्युमपाइप र केही कल्भर्ट मात्र बनाएको छ । निर्माण कम्पनीले नाला बनाउने काम पेटी ठेक्कामा रमेश पौडेल र मदन केसीलाई दिएको थियो ।