रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणमा रहनुभएका पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किनुभएको छ ।
मन्त्री ज्ञवाली आज बिहान करिब १० बजे त्रिभुवन अन्तर्राट्रिय विमानस्थल आइपुग्नुभएको हो । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले रुस भ्रमणको क्रममा राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराउनुभयो । त्यस्तै भ्रमण वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा सम्वादमा आउन रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोलाई निम्तो दिएको जानकारी समेत दिनुभयो । उहाँले रुससँग विपद्का बेला उद्धारका लागि चाहिने र यूएन मिसनका लागि चाहिने सामग्री सहयोगका बारे छलफल भएको समेत जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले सर्भियाको औपचारीक भ्रमणका क्रममा पनि दुई देशबीचको हितका विषयमा छलफल भएको जानकारी दिनुभयो । सर्भियासँगको सम्बन्धको ६० औं वार्षिकोत्सवको अवसर पारेर त्यहाँको कुनै एक सडकको नामाकरण महाकवि लक्ष्मीप्रसाद देवकोटाको नामबाट राख्न सर्भिया सकारात्मक रहेको समेत जानकारी दिनुभयो ।