प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा थप सुधार आएको छ ।
महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार एपेन्डिसाईटिसको शल्यक्रिया गर्नु भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ । आज बिहान अस्पतालका चिकित्सक अरुण सायमीले प्रधानमन्त्री ओली सामान्य हिडन र खाना खान सक्ने हुनुभएको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई अझै सघन उपचार कक्षमा नै राखिएको पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले पनि आज बिहानै ट्वीटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताउनुभएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा चिकित्सकहरु अरुण सायमी, रमेशसिंह भण्डारी, दिव्या सिंहलगायतको टिम रहेको छ ।