Friday, November 22, 2024
Home > मुख्य समाचार > भन्सार कर्मचारी र प्रहरीकै मिलेमतोमा विषादी परीक्षण बिनै फलफूल तथा तरकारी नेपाल भित्राइँदै

भन्सार कर्मचारी र प्रहरीकै मिलेमतोमा विषादी परीक्षण बिनै फलफूल तथा तरकारी नेपाल भित्राइँदै

झापाको भद्रपुर नाकामा खटिएका भन्सार कर्मचारी र प्रहरीकै मिलेमतोमा विषादी परीक्षण बिनै भारतबाट आयातित फलफूल तथा तरकारी नेपाल भित्राइँदैछ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाले विषादी परीक्षणमा कडाइ गरेपछि व्यापारीले त्यहाँबाट भित्र्याइने फलफूल तथा तरकारी अहिले भद्रपुर नाकाबाट धमाधम भित्राउँदैछ । विषादी परीक्षणपश्चात राजश्व तिराएर भित्र्याउनु दिनुपर्ने फलफूल तथा तरकारी भद्रपुर भन्सार कार्यालयले त्यसै आयात गर्न दिइरहेको छ । त्यसबापत भारतीय कारोबारले नाकामा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारीलाई रकमसमेत बाँड्ने गरेको व्यापारी स्रोतको दाबी छ । पिकअप भ्यान तथा मिनी ट्रकमा फलफूल र तरकारी भित्र्याउँदा सबैको आँखा लाग्छ भनेर कारोबारीले साइकल र सिटी सफारीलाई माध्यम बनेका छन् । कारोबारीले मेची पुल पारी फलफूल र तरकारी भण्डारण गर्ने र त्यहाँबाट भारतीय नम्बर प्लेटको सिटी सफारी, ठेला भ्यान र साइकलमा लोड गरी भन्सार अगाडिबाटै नेपाल प्रहरीको चेकपोस्टसम्म ल्याउँछन् । भन्सार अगाडिबाट लाइन लगाएर सफारी र साइकल प्रहरीको चेकपोस्टसम्म आइपुग्दा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारी त्यसलाई रोक्नुका साटे उल्टै कति वटा गयो भनेर गन्दै बस्छन् । त्यसपछि कारोबारीले ड्युटीमा खटिएका कर्मचारी र प्रहरीलाई रकम बाँड्छन् । एउटा सिटी सफारीले कम्तीमा पाँच सयदेखि एक हजार र साइकलले एक सयदेखि दुई सय पचाससम्म रकम बाँड्ने गरेको व्यापारी स्रोतको दाबी छ । फलफूल र तरकारीसँगै भारतबाट आयातित माछा पनि क्वारेन्टाइन चेकजाँच बिना नै भित्रिरहेको छ । नेपाली तथा भारतीय कारोबारीले माछालाई कार्टुनमा हालेर ल्याउनुपर्ने र क्वारेन्टाइन चेकजाँचपश्चात भन्सार काटेर लैजानुपर्ने हुन्छ । तर, झोलामा राखेर साइकल र सफारीमा भित्राउने माछाको क्वारेन्टाइन र भन्सार दुवै नगरी भित्राइरहेको छ । गत असार २५ गते सर्वाेच्च अदालतले भारतबाट आयातित फलफूल तथा तरकारीको विषादी परीक्षण नगर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने र सरकारको निर्णय यथास्थितिमा राख्न आदेश दिएको थियो । त्यसपछि सीमा नाकाबाट नेपाल भित्रिने फलफूल तथा तरकारीको विषादी परीक्षणमा कडाइ गरेको हो । तर, भद्रपुर भन्सार अगाडिबाट खुलेआम भित्रिने भारतीय फलफूल र तरकारी भन्सारदेखि सय मिटर टाढा कृषि थोकबजार जस्तै लाग्ने गरेको पाइएको छ । सिटी सफारीमा भित्रिने फलफूल र तरकारी प्रहरी चेक पोस्ट नजिकै रहेको सवारी पार्किङ स्थलसम्म ल्याउने र त्यहाँ पिकअप वा जिपमा लोड गरी सोजै बिर्तामोड बजारसम्म पुर्याउने दृश्य देख्न सकिन्छ । भारतबाट आयातित फलफूल तथा तरकारीको विषादी परीक्षणसँगै १० प्रतिशत कर लाग्ने भद्रपुर भन्सार कार्यालयका प्रमुख फणीन्द्र खतिवडाले जानकारी दिनुभयो । काँचो तथा हरियो सागसब्जीमा ५ प्रतिशत कृषि सुधार र अग्रीम आयकरमा ५ प्रतिशत लाग्ने जनाइएको छ । सुकेको लसुनमा १० प्रतिशत करसहित १३ प्रतिशत भ्याट पनि लाग्छ । विना परीक्षण फलफूल तथा तरकारी भन्सारले कर लिन मिल्दैन भन्सार प्रमुख खतिवडाले बताउनुभयो । भन्सार अगाडिबाटै सोजै विना परीक्षण फलफूल र तरकारी गइरहेको विषयमा आफूलाई थाहा नभएको बताउँदै उहाँले ‘त्यस्तो गरेको खण्डमा ड्युटीमा खटिएका कर्मचारी काराबाही हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *