मेची नदी छेउमै १११ र ११२ पिलरले नेपाल–भारतको सीमा छुट्टाएको छ । सीमाले छुट्टाएको मेची नदी झापाको कचनकवल गाउँपालिका ५ स्थित पाठामारीमा पर्छ । नदीमा झोलुङ्गे पुल बन्छ भन्ने कुरा स्थानीयका लागि एकादेशको कथा जस्तो भइसकेको छ । चार वर्षअघि ठेक्का लागेको झोलुङ्गे पुल अलपत्र अवस्थामा छाडेर अहिले निर्माण कम्पनी फरार भएको छ ।
झापाको कचनकवल गाउँपालिका ५ स्थित पाठामारी र भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्लामा पर्ने ठाकुरगञ्ज र धोबीभिट्टा गाउँ जोड्ने मेची नदीमा झोलुङ्गे पुल बनाउने ठेक्का लागेको छ । चार बर्षसम्म मेची नदीको वारिपारि दुईवटा पिलर गाडेर निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहिन भएका छन् । पुल नबन्दा स्थानीयले सास्ती झेल्नु परेको छ । ठेक्का लागेको पुल बनाउन छाडेर ठेकेदार फरार हुदाँ नदी तर्न स्थानीय शुल्क तिर्न बाध्य छन् । भारतीय बजारमा र्निभर सीमावासी बर्खायाममा डुङ्गा र हिउँदमा अस्थायी बाँसे पुलको सहयोगमा नदी तर्दा शुल्क तिर्नुपर्ने हुन्छ । सरकारले २०७२ सालमा दुवै देशका नागरिकको यातायात सुविधालाई लक्षित गरी मेची नदीमा झोलुङ्गे पुल बनाउन करिब ३ करोड लागतमा ठेक्का लगाएको थियो । निलगिरी निर्माण सेवा बानेश्वर, काठमाडौँले सो पुलको ठेक्का लिएको हो । बेलाबेला ठेकेदार र कामदार आउने, हेर्न र फर्किने गरेको स्थानीय भुवेन्द्रप्रसाद गणेशले गुनासो पोख्नुभयो ।
नदीमा झोलुङ्गे निर्माण कार्य अलपत्र हुँदा डुङ्गा र अस्थायी बाँसे पुल ठेकेदारलाई कमाई खाने भाँडो बनेको छ । बर्खायाममा डुङ्गा चलाउने र हिउँदमा अस्थायी बाँसे पुल बनाउने ठेकेदारले मेची नदी तर्दा स्थानीयबाट शुल्क उठाउँदैछ । गतबर्ष ठेक्का नलगाएका कचनकवल गाउँपालिकाले यसबर्ष पुलको ठेक्का लगाएको छ । ठेकेदारले बाँसे पुल तर्दा ५ रुपैयाँ, साइकलबाट १० रुपैयाँ, मोटरसाइकलबाट २० रुपैयाँ रकम असुल्दै आइरहेको छ । ठेकेदार जलाल मियाले ४ लाख २० हजारमा बाँसे पुलको ठेक्का लिएको बताइएको छ । विकासले समेत पछि परेका पाठामारी गाउँमा मुस्लिम र राजवंशी समुदायको बसोबास बाक्लो छ । उनीहरू सरसामान खरिददेखि पारिवारिक सम्बन्ध गाँस्न पनि भारतकै भर पर्छन ्। पाठामारीलगायत कचनकवल गाउँ आसपासका स्थानीयले विवाहको प्रस्ताव लिएर भारत जाँदा छोरी नदिने गरेको स्थानीय मोहम्मद खैरुदिनले बताउनुभयो ।
ठेकेदारको चरम लापरबाहीले नदीको झोलुङ्गे पुल अलपत्र पारिएको छ । पुल निर्माणपछि दीर्घकालीन समस्या टर्ने स्थानीयको मनमा ठुलो आशा जागेको थियो, तर त्यो आशा पुरा हुने छाटकाट देखिँदैन । निर्माण स्थलमा कामदारका लागि टहरा बनाइएको थियो । तर, टहरा अहिले कुनै पनि कामदार छैन । निर्माण स्थलमा पुलको बजेट उल्लेखित साइन बोर्डसमेत छैन । बोर्ड नहुँदा पुलको लागत बजेट, इस्टिमेट, समय अवधि त्यहाँका स्थानीय नभई गाउँपालिका अध्यक्ष अञ्जार आलमलाई समेत थाहा छैन ।
संघीय सरकार मातहत ठेक्का लागेको मेची नदीमा अहिले दुईवटा झोलुङ्गे पुद अलपत्रमा छाडिएको छ । झोलुङ्गे पुल हेर्न आधिकारिक निकाय झापा नहुँदा ठेकेदारको लापरबाही बढेको हो । सस पेन्सन ब्रिज डिभिजन काठमाडौँले हेर्ने झोलुङ्गे पुलको अहिलेसम्म अनुगमन भएको छैन ।