तेहोरो कर खारेजीको मागगर्दै सामुदायिक वन उपभोक्ता समूहहरुले विराटनगरमा बिरोध प्रदर्शन गरेका छन ।
सामुदायिक बन उपभोक्ता महासंघ नेपाल,प्रदेश एकको आयोजनामा गरिएको प्रर्दशनमा प्रदेशभरिका बन उपभोक्ता समूहहरुको सहभागिता थियो । स्थानीय शनिहाटमा जम्मा भएका प्रदेशभरिका उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यहरुले त्यहाँबाट विरोध र्याली निकालेका थिए । प्लेकार्ड र ब्यानरसहित निकालिएको र्याली शहिद रंगशाला,हस्पीटलचोकको परिक्रमागर्दै बुधहाटमा गएर बिरोधसभामा परिणत भएको थियो । बिरोध सभामा महासंघका मोरङ अध्यक्ष रामकृष्ण राईले सरकारले सामुदायिक बन माथि तेहरो कर लगाएर किर्तिमान कायम गर्न नहुने विचार ब्यक्त गर्नुभयो । महासंघका राष्ट्रिय सदस्य भरतबहादुर थापाले समुदायमा हस्तान्तरण भएपछि बन क्षेत्र ३९ प्रतिशतबाट ४४ प्रतिशतमा बृद्धि भएको बताउनुभयो । संघ,प्रदेश र स्थानीय तहले लगाएको सबै कर जोड्दा ७० प्रतिशत बढी हुने बताउदै उनीहरुले अवैज्ञानिक र अब्यवहारिक कर मान्य नहुने बताएका छन ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका मोरङ सचिव गणेश उप्रतीले सरकारले संकलनगर्ने कर ब्यवस्थित र वैज्ञानिक हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो वार्ता,सम्बाद र सहमतिको माध्यमबाट समस्या समाधान गर्न तयार रहेको आफूले पाएको जानकारी दिनुभयो । बन समूहहरुले बन ऐन अनुसार १५ प्रतिशत कर बुझाउदै आएपनि पछिल्लो समय प्रदेश र स्थानीय तहहरुले आ–आफ्नो तरिकाले कर निर्धारण गरेका कारण सामुदायिक बन धराशायी हुने अवस्थामा पुगेको बन उपभोक्ता महासंघले जनाएको छ । तेहरो कर खारेजी नगरिए राष्ट्रब्यापी आन्दोलन चर्काउने उनीहरुले चेतावनी समेत दिएका छन ।